सोलुखुम्बु स्थित १५ शय्याको फाप्लु जिल्ला अस्पतालले ५४ शय्यासम्मको सेवा दिन बाध्य भएको छ । अस्पतालको क्षमताभन्दा बढी बिरामीको चाप हुँदा सेवा धान्न हम्मेहम्मे परेको छ ।
अस्पतालका निमित्त प्रमुख डा. श्रेया पङ्गेनीले भनिन , “हाम्रो अस्पताल १५ शय्याको हो, तर दैनिक ५० भन्दा बढी बिरामी भर्ना भइरहेका छन् । प्रसूति, आकस्मिक, स्त्रीरोगजस्ता सेवा पनि यहीँबाट दिनुपर्ने बाध्यता छ । भौतिक संरचना त पर्याप्त छ, तर जनशक्ति कमजोर छ ।”
जिल्ला अस्पतालमा १८ जना स्थायी कर्मचारीको दरबन्दी छ । तर, हाल पाँच जना मात्रै स्थायी कर्मचारी कार्यरत छन् । ती पाँच जनामा एक जना मेडिकल अधिकृत, एक जना वरिष्ठ नर्सिङ निरीक्षक, दुई जना अनमी र एक जना कार्यालय सहयोगी छन् । बाँकी १३ पद रिक्त हुँदा अस्पतालको सेवा प्रणाली अधुरो र असन्तुलित बनेको छ ।
डा. पङ्गेनी भन्नुहुन्छ, “एक जना डाक्टरले सबै प्रकारका बिरामीको चाप सम्हाल्नुपर्दा कहिलेकाहीँ २४ घण्टा ड्युटी गर्नुपर्ने अवस्था आउँछ, मनोवैज्ञानिक दबाब धेरै छ ।” हाल कूल दरबन्दीको ७२ प्रतिशत पद रिक्त छ ।
“हामी आठ घण्टा ड्युटीमा खटिनुपर्ने हो, तर दैनिक १२–१३ घण्टासम्म ड्युटी गर्नुपर्छ । मानसिक र शारीरिक थकान अत्यधिक छ, व्यक्तिगत जीवनसँगको सन्तुलन हराएको छ”, अस्पतालमा कार्यरत स्टाफ नर्स दिप्ती चौधरीले भनिन ।
करारका कर्मचारीको भरमा अस्पताल
अस्पतालमा ३२ जना करारका कर्मचारी छन्, ११ जना अस्पताल विकास समितिबाट ज्यालादारीमा नियुक्त छन् । अस्पतालको दीर्घकालीन योजना, तालिम, प्रणाली सुधारजस्ता विषयमा स्थायित्व नहुँदा कार्यान्वयन हुन सकेको छैन । वरिष्ठ नर्सिङ निरीक्षक सानी शेर्पा भन्नुहुन्छ, “छात्रवृत्ति करारका चिकित्सकहरू छ महिना वा एक वर्षका लागि आउँछन् । तिनको अनुभव राम्रो भए पनि अस्पताललाई दीर्घकालीन लाभ पुग्दैन ।”
करारका चिकित्सकहरूले सक्दो योगदान दिए पनि उनीहरू लामो समय नरहने भएकाले अस्पतालले बारम्बार चिकित्सकको अभाव झेल्दै आएको छ । अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख कृष्णप्रसाद निरौलाले भन्नुभयो, “हामीले पटकपटक प्रदेश सरकारसँग जनशक्ति माग गरेका छौँ । अस्पतालको स्तरोन्नति, बजेट, जनशक्ति—सबै कुरामा ध्यानाकर्षण गराएका छौँ, तर सुनुवाइ भएको छैन ।” उहाँले गत साता मात्रै प्रदेशका स्वास्थ्यमन्त्रीसँग भेटेर ३० शय्याको संरचना र सो अनुसारको दरबन्दी माग गरेको जानकारी दिए ।
प्रदेश स्वास्थ्य मन्त्रालयले भने लोकसेवा आयोगबाट पदपूर्ति भएपछि दरबन्दी पूरा हुने जवाफ दिएको छ । स्वास्थ्यमन्त्री भूपेन्द्र राईले भन्नुभयो, “हामी लोकसेवा आयोगमार्फत दरबन्दी पूर्ति गर्ने तयारीमा छौँ, अहिले प्रदेशभर जनशक्ति अभाव छ ।”