सर्लाही प्रहरीले ११२.७८ किलोग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, लालबन्दी नगरपालिका वडा नं. १४ को क्षेत्रबाट पत्थरकोटतर्फ भारतीय नम्बर प्लेटको सवारीसाधनमा प्रतिबन्धित लागूऔषध गाँजाको ओसारपसार भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएको थियो। सो सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, लालबन्दीबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरेको थियो।
अनुसन्धानका क्रममा २०८२ साल जेठ ५ गते राति करिब १० बजे जिल्ला सर्लाही लालबन्दी नगरपालिका वडा नं. १४ डाईनेखोलामा BR 32 AN 0817 भारतीय नम्बर प्लेट भएको सेतो स्कोर्पियो (Scorpio) र लु ३३ प ३८९४ नम्बरको पल्सर (Pulsar) मोटरसाइकल छोडी भाग्दै गरेको अवस्थामा जिल्ला सर्लाही लालबन्दी नगरपालिका वडा नं. १४ बस्ने ४२ वर्षीय सोम बहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
सोधपुछ गर्दा तामाङले स्कोर्पियो गाडीमा प्रतिबन्धित लागूऔषध गाँजा रहेको बताएका थिए। त्यसपछि प्रहरीले स्कोर्पियो गाडी खानतलासी गर्दा पछाडिको डिक्कीमा रातो रङको प्लास्टिकमा प्याकिङ गरिएको २१ वटा पोका फेला पारेको थियो। ती पोकाहरू खोलिछामी हेर्दा गाँजा जस्तो देखिने वस्तु भेटिएपछि स्थानीय जनप्रतिनिधिको रोहवरमा प्रमाणिक तराजुमा तौल गर्दा ११२.७८ किलोग्राम प्रतिबन्धित लागूऔषध गाँजा जस्तो देखिने वस्तु फेला परेको थियो।
प्रहरीले बरामद गरेको स्कोर्पियो गाडी, मोटरसाइकल र ११२.७८ किलोग्राम गाँजासहित तामाङलाई पक्राउ गरी थप अनुसन्धानका लागि सम्मानित सर्लाही जिल्ला अदालतबाट ९ दिनको म्याद थप गरेको छ। घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय लालबन्दी, सर्लाहीले गरिरहेको छ।