१९ चैत्र २०८२ , बिहीबार

आधारभूत अस्पताल निर्माणका लागि सरकारले ११ अर्ब २४ करोड रुपैयाँ विनियोजन गर्यो

News
१५ जेष्ठ, काठमाण्डौँ ।

सरकारले निर्माणाधीन आधारभूत अस्पताल निर्माण कार्य सम्पन्न गर्न ११ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक बजेट पेश गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण सम्पन्न भएका अस्पताललाई स्थानीय तह र समुदायको सहकार्यमा सञ्चालन गरिने बताए।

सरकारले गर्भवती, सुत्केरी तथा नवजात शिशुको जीवनरक्षाका लागि आमा सुरक्षा कार्यक्रम, सुनौला हजार दिन र विपन्न नागरिकका लागि सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सञ्चालन गर्न १३ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरेको छ।

त्यसैगरी, सबै प्रदेशमा अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार तथा पुनस्र्थापनाका लागि सेवा प्रारम्भ गरिने भएको छ। आगामी फागुनमा नसर्ने रोगको सघन स्क्रिनिङ गर्ने व्यवस्था मिलाइने छ। आधारभूत स्वास्थ्य सेवा र आधारभूत अस्पतालबाट निःशुल्क उपलब्ध हुँदै आएका औषधि आपूर्ति सुनिश्चित गरिने बजेटमा उल्लेख छ। वितरण गरिएका औषधिको अभिलेख राख्ने र वेबसाइटमा प्रकाशन गर्ने व्यवस्था मिलाइने छ। यसका लागि २ अर्ब ६ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए।