१४ असार २०८२ , शनिबार

लुम्बिनी आयुर्वेद चिकित्सालय : बढ्दो विश्वास, प्रभावकारी सेवा

News
१३ असार, काठमाण्डौँ ।

बुटवल आसपासका मात्र नभई टाढाटाढाबाट पनि बिरामीहरू निको हुन आउने लुम्बिनी आयुर्वेद चिकित्सालयको सेवाप्रति पछिल्लो समय मानिसहरूको विश्वास बढ्दै गएको छ। बुटवल–९ की ललिता भुसाल ढाडको नसा च्यापिएको समस्याले दुई वर्षदेखि ग्रस्त थिइन्। विभिन्न अस्पताल चहार्दा पनि निको नभएपछि उनी लुम्बिनी आयुर्वेद चिकित्सालयमा आइन्। एक हप्ताको उपचारपछि उनलाई आराम मिलेको छ।

त्यसैगरी, तिलोत्तमा–१ की पदमकुमारी पन्थ दुई वर्षदेखि निरन्तर खोकीले ग्रस्त थिइन्। बुटवल र चितवनलगायतका विभिन्न स्थानमा उपचार गराउँदा पनि निको नभएपछि उनी तीन महिनादेखि लुम्बिनी आयुर्वेद चिकित्सालयमा जान थालेकी छन्। त्यहाँको उपचारपछि उनको खोकी आधा सञ्चो भएको छ।

यस्तै, बुटवल–११ की अमृता पराजुली छ वर्षदेखि निन्द्रा नलाग्ने समस्याबाट ग्रसित थिइन्। बुटवल र काठमाडौँमा उपचार गराउँदा पनि समस्या समाधान नभएपछि उनी पनि सो आयुर्वेद औषधालयमा आएपछि सञ्चो भएको बताउँछिन्।

चिकित्सालयका आयुर्वेद चिकित्सक योगेश ढकालका अनुसार शिरोधारा एउटा स्थापित आयुर्वेदिक पद्धति हो। यसमा ब्राह्मी, शङ्खपुस्पी, जटामासी, यस्टीमधु जस्ता औषधियुक्त तेल वा अन्य औषधियुक्त झोललाई निरन्तर धाराका रुपमा निश्चित समयसम्म निधारमा प्रवाह गरिन्छ। यसले शिरमा कमी रहेका तत्वहरुको पोषण गर्नाका साथै मस्तिष्कका केन्द्र तथा ग्रन्थीलाई सक्रिय पारी शरीरलाई सन्तुलित र स्वस्थ राख्छ।

आर्थिक वर्ष २०८०/८१ मा ४० हजार ७८५ बिरामीले सेवा लिएको अस्पतालको तथ्याङ्क छ। जसमध्ये २२ हजार ३२७ पुरुष र १८ हजार ४५८ महिला थिए। अस्पतालमा दुईवटा ओपिडीबाट दैनिक ४० देखि १६० जनासम्म बिरामीले सेवा लिने गरेका छन् भने थेरापीतर्फ ३० जनाले सेवा लिने गरेको अस्पतालले जनाएको छ।

यहाँ नेपाल–भारत सीमावर्ती क्षेत्रका साथै भारतको लखनऊबाट समेत बिरामी आउने गरेका छन्। गत वर्ष १५१ जना भारतीय नागरिकले यहाँ उपचार गराएका थिए, जसमा ओपिडीबाट ११३ र भर्ना भएर ३८ जनाले सेवा लिएका थिए।

बुटवल–११ मा रहेको १५ शय्याको सो चिकित्सालयले परम्परागत आयुर्वेद उपचार पद्धतिमार्फत स्वास्थ्य सेवामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। विसं २०४३ मा लुम्बिनी आयुर्वेद औषधालयको रूपमा स्थापना भएको यो संस्था २०७५ सालमा लुम्बिनी प्रदेश सरकारद्वारा नाम परिवर्तन गरी लुम्बिनी आयुर्वेद चिकित्सालय बनाइएको हो।

अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै गए पनि जनशक्तिको अभाव रहेको छ। विसं २०४३ मा सात जनाको दरबन्दीमा सुरु भएको अस्पताल अहिले ३२ जना कर्मचारीबाट सञ्चालन भइरहेको छ। औषधि अभाव र शल्यक्रिया विभागको अभावले चुनौती थपिएका छन्। निःशुल्क प्रदान गरिने औषधिका लागि बजेट अभाव रहेको अस्पतालको गुनासो छ।

चिकित्सालयका निमित्त कार्यालय प्रमुख गणेशप्रसाद सापकोटाले अत्याधुनिक उपकरण र वैज्ञानिक अध्ययनको प्रयोगमार्फत मौलिक आयुर्वेद चिकित्सा पद्धतिलाई प्रवद्र्धन गर्दै लुम्बिनी आयुर्वेद चिकित्सालय रुपन्देहीको स्वास्थ्य सेवा क्षेत्रमा अग्रणी संस्था बन्न सफल हुँदै आएको बताए।

आयुर्वेदको पञ्चकर्म पद्धतिलाई अघि बढाउन चिकित्सालयले अनुगमन गर्नेगरी रुपन्देहीका चार पालिकामा आरोग्य केन्द्र सञ्चालनमा छन्। त्यसैगरी, रुपन्देहीका छ पालिकामा स्थानीय तहले हेर्ने गरी र चिकित्सालयकै अनुगमन हुनेगरी आयुर्वेदिक औषधालय सञ्चालन भइरहेका छन्।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले अस्पतालको सेवा अझ प्रभावकारी बनाउन थप भवन बन्दै गरेको र यसका लागि बजेटसमेत विनियोजन गरिएको जानकारी दिए।