६ असार २०८२ , शुक्रबार

किष्ट अस्पतालले पायो अन्तर्राष्ट्रिय गुणस्तरको मान्यता, नेपालमै पहिलो

News
२७ जेष्ठ, काठमाण्डौँ ।

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले अन्तर्राष्ट्रिय गुणस्तरको मान्यता पाएको छ। भारतको नेशनल एक्रिडियशन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाइडर्स (एनएबिएच)ले किष्ट अस्पताललाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको रूपमा मान्यता दिएको हो। यो मान्यता पाउने किष्ट अस्पताल नेपालकै पहिलो अस्पताल हो।

एनएबिएचले लामो समयदेखि अस्पतालको अनुगमन तथा परीक्षण गरेको थियो। त्यसक्रममा अस्पतालले अन्तर्राष्ट्रिय मापदण्डअनुसार तोकिएका ६०० भन्दा बढी सूचक पूरा गरेको पाइएको थियो। त्यसपछि एनएबिएचले अप्रिल २४, २०२५ मा अस्पताललाई यो मान्यता दिएको हो।

यो मान्यतासँगै अस्पतालले अब गुणस्तरमा एनएबिएचले तोकेको अन्तर्राष्ट्रिय मापदण्ड कायम गर्नुपर्नेछ। अस्पतालका प्रबन्ध निर्देशक अविशेक थापाले यो मान्यताले बिरामीको सेवाका लागि अस्पताल थप उत्साही भएको र सेवाको गुणस्तरमा सेवाग्राहीले थप विश्वास गर्ने वातावरण बनेको बताए। उनले अस्पतालले सबै प्रकारका बिरामीलाई अन्तर्राष्ट्रिय गुणस्तरको उपचार सेवा दिने बताए।

एनएबिएचले भारत तथा भारतबाहिरका स्वास्थ्य सेवा प्रदायकहरूको गुणस्तर मापन गर्ने गर्दछ। यसले अस्पतालको पूर्वाधार, उपकरण र बिरामीको सुरक्षालाई विशेष ध्यान दिन्छ।

२०६२ सालमा स्थापना भएको किष्ट अस्पतालले सामान्य स्वास्थ्य सेवादेखि विशिष्टीकृत सेवा प्रदान गर्दै आएको छ। पछिल्लो समय मृगौला तथा कलेजो प्रत्यारोपण, मुटु रोग तथा क्यान्सर रोगसम्बन्धी सेवामा किष्ट अस्पतालले राम्रो प्रगति गरेको छ। अस्पतालले नेपालमै पहिलो पटक एकै व्यक्तिमा कलेजो र मृगौलाको सफल प्रत्यारोपणसमेत गरेको छ।