२१ जेष्ठ २०८२ , बुधबार

कञ्चनपुरमा थारु समुदायका एक हजार ८४२ जनाको रगत परीक्षण, १९७ जनामा सिकलसेल पोजेटिभ

News
१२ जेष्ठ, काठमाण्डौँ ।

 जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट यहाँका थारु समुदायका एक हजार ८४२ जनाको रगत परीक्षण गरिएको छ। सिकलसेल एनिमिया तथा थालेसिमिया रोग पहिचान तथा निदान गर्ने उद्देश्यले आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट उक्त सङ्ख्यामा रगत परीक्षण गरिएको स्वास्थ्य कार्यालयका सिकलसेल एनिमिया तथा थालेसिमिया रोगसम्बन्धी स्रोत व्यक्ति सिद्धराज भट्टले जानकारी दिए।

पुनर्वास नगरपालिका र भीमदत्त नगरपालिकाका थारु समुदायको बसोबास रहेका छ वटा वडामा रगत परीक्षण गरिएको थियो। जसमा १९७ जनामा सिकलसेल एनिमिया ‘पोजेटिभ’ देखिएको छ। पोजेटिभ देखिएका नमूनालाई धनगढीस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएको र जाँचको अन्तिम रिपार्ट आउन समय लाग्ने उनले बताए।

नेपालमा खास गरी थारु समुदायमा सिकलसेल एनिमिया तथा थालेसिमिया रोगको प्रकोप उच्च रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। थारु समुदायमा सिकलसेल रोग चुनौतीका रुपमा रहेको बताउँदै सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रका कोषाध्यक्ष कुमारीलक्ष्मी चौधरीले यसको निवारणका लागि समुदायस्तरमा स्वास्थ्य परीक्षणमा जोड दिनुपर्ने बताइन्। थारु समुदायमा १०० को रगत परीक्षण गर्दा २० जनाको पोजेटिभ देखा परिरहेको खुसी चौधरीले जानकारी दिइन्।