कोशी प्रदेशमा स्वास्थ्य पर्यटनको सम्भावना र प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डको आयोजनामा दोस्रो स्वास्थ्य पर्यटन मार्ट–२०८२ शनिबार सम्पन्न भएको छ। बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजित कार्यक्रममा कोशीलाई ‘हेल्थ टुरिजम हब’ बनाउने विषयमा जोड दिइयो।
कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सडानन्द मण्डलले भारतबाट उपचारका लागि आउने नागरिकलाई सहज सेवा दिन पूर्वाधार तथा नीति सुधारमा सरकार लागिपरेको बताए। नेपाल आयुर्वेदिक र वातावरणीय उपचारका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै उनले निजी–सरकारी सहकार्यमा स्वास्थ्य पर्यटन प्रवर्द्धन गरिने उल्लेख गरे।
पर्यटन बोर्डका निमित्तनिर्देशक रोहिणी खनालले पूर्वाधार, गुणस्तर र नीतिगत सुधारमार्फत स्वास्थ्य पर्यटनमा विश्वास आर्जन गर्नुपर्ने बताइन्। मार्टमा विशेषज्ञ अस्पताल, आयुर्वेदिक संस्था, होटल तथा ट्राभल एजेन्सीसहित ४८ प्रदर्शनी कक्ष राखिएको थियो। कार्यक्रमअन्तर्गत स्वास्थ्य पर्यटनका सम्भावना, चुनौती र सीमापार सहकार्यबारे दुईवटा प्यानल छलफल आयोजना गरियो।
भारतबाट आएका २५ भन्दा बढी पर्यटन व्यवसायीको सहभागिता रहेको कार्यक्रममा बिटुबी बैठकसमेत भएको थियो। नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले स्वास्थ्य पर्यटनलाई आर्थिक विकासको रणनीतिक आधार बनाउने प्रतिबद्धता गरे।