२२ बैशाख २०८२ , सोमबार

भरतपुरमा मुटुको निःशुल्क स्वास्थ्य शिविर, ६५० जना लाभान्वित

News
२१ बैशाख, काठमाण्डौँ ।

शहीद गङ्गालाल हृदयरोग केन्द्रका विशेषज्ञ चिकित्सकसहितको टोलीले भरतपुर महानगरपालिका–६ गीतानगरमा मुटुको स्वास्थ्य परीक्षण गरेको छ। जिपी कोइराला अध्ययन केन्द्रको आयोजनामा भएको निःशुल्क शिविरमा ६५० जनाको परीक्षण गरिएको हो।

केन्द्रका अध्यक्ष रामप्रसाद अधिकारीका अनुसार शहीद गङ्गालाल हृदयरोग केन्द्रका निर्देशक डा रवि मल्ल नेतृत्वको १८ जना विशेषज्ञ चिकित्सक एवं स्वास्थ्यकर्मीको टोलीले ‘इको’, ‘इसिजी’ परीक्षण गर्नुका साथै उच्च रक्तचाप, मधुमेहलगायत मुटुसँग सम्बन्धित रोगबाट प्रभावित व्यक्ति लाभान्वित भएका छन्।

परीक्षणका क्रममा जन्मजात मुटुमा प्वाल रहेको पाइएका तीन जनाको गङ्गालाल हृदयरोग केन्द्रमा निःशुल्क रुपमा उपचार गरिदिने केन्द्रका अध्यक्ष अधिकारीले जानकारी दिए।

केन्द्रका निर्देशक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ मल्लले न्यून शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्नेक्रममा गङगालाल हृदयरोग केन्द्रले जिल्लाजिल्लामा सञ्चालित मुटुरोग शिविरमार्फत निःशुल्क सेवा प्रदान गर्दै आएको जानकारी दिए।