सुर्खेत सिम्ता गाउँपालिका–८ का भीमबहादुर खत्री जस्तै हाडजोर्नीको समस्या भएका धेरै स्थानीयले गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा पाउँदा राहत महसुस गरेका छन्। सिम्ता गाउँपालिका–८ मा आयोजित एक दिने निःशुल्क बृहत् स्वास्थ्य परीक्षण शिविरबाट उनीहरूले लाभ लिएका हुन्।
शिविरमा स्त्री रोग, मधुमेह, उच्च रक्तचाप, हाडजोर्नी तथा नसासम्बन्धी रोगको उपचार गरिएको थियो। विशेषज्ञ चिकित्सकसहितको टोलीबाट सेवा दिइएको स्वास्थ्य शिविरबाट तीन सय जनाले सेवा पाएका छन्।
सिम्ता–८ मा पहिलोपटक गरिएको सात विशेषज्ञ चिकित्सक सम्मिलित स्वास्थ्य शिविरबाट सेवा लिन पाएपछि स्थानीय खुसी भएका हुन्। वडा कार्यालयको आयोजना तथा नेपाल प्रेस युनियन सुर्खेत, स्वास्थ्य पत्रकार समाज कर्णालीको सहकार्य, सुर्खेत उद्योग वाणिज्य सङ्घ तथा नेपाल औषधि व्यवसायी सङ्घ कर्णाली प्रदेशको प्राविधिक सहयोगमा शनिबार शिविर सञ्चालन गरिएको थियो।
शिविरमा वरिष्ठ नाक, कान घाटी रोग विशेषज्ञ डा पारस पौडेल, वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा शुभ श्रेष्ठ, वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा नम्रता भट्टराई र वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा कृतिका थापाले सेवा दिएका थिए।
घरदैलोमा स्वास्थ्य शिविर आयोजना गरिएपछि आर्थिक अवस्था कमजोर भएका बिरामी बढि जसो लाभान्वित भएको वडाध्यक्ष चेतबहादुर रेग्मीले बताएका छन्। सिम्ता गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्दले नागरिकले घरदैलोमै सेवा पाउँदा खुसी व्यक्त गरे। शिविरमा विभिन्न रोगका दुई सय २५ महिला र ७५ पुरुषले सेवा लिएका छन्।