११ जेष्ठ २०८२ , आईतवार

पञ्चेश्वरमा निःशुल्क आँखा शिविर: १३३ जनाको शल्यक्रिया

News
१० जेष्ठ, काठमाण्डौँ ।

बैतडीको पञ्चेश्वर गाउँपालिकामा सञ्चालन भएको निःशुल्क आँखा शल्यक्रिया शिविरमा एक सय ३३ जनाको आँखाको शल्यक्रिया गरिएको छ।

पञ्चेश्वर गाउँपालिकाको कुलाउ स्वास्थ्य चौकीमा बिहीबार र शुक्रबार सञ्चालन भएको आँखा शिविरमा मोतीबिन्दु र आँखामा मासु पलाएका एक सय ३३ जनाको शल्यक्रिया गरिएको गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत नारायणराम सार्कीले जानकारी दिए।

यसअघि जेठ ६ गते गाउँपालिका- ५ को गणमेश्वर आधारभूत विद्यालयमा सञ्चालन गरिएको छनोट शिविरमा ३१ जनामा मोतिबिन्दुको समस्या देखिएकोमा उनीहरूको कुलाउमै शल्यक्रिया गरिएको उहाँले बताए। शिविरमा छ सय ६२ जनाको आँखाको जाँच गरेर औषधि तथा दुई सय ६५ जनालाई निःशुल्क चश्मा वितरण गरिएको सार्कीले जानकारी दिए।

गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले नागरिकलाई आफ्नै ठाउँमा सेवा दिने उद्देश्यले विभिन्न निकायसँगको साझेदारीमा शिविर सञ्चालन गरिएको बताए। गाउँपालिका उपाध्यक्ष विना भट्टले स्थानीयस्तरमै शिविर सञ्चालन हुँदा अधिकांश ज्येष्ठ नागरिकले सेवा लिएको बताइन्।

गाउँमै गुमेको आँखाको ज्योति फर्किएपछि स्थानीय खुसी भएका छन्। स्थानीय जयमति चन्दले शिविरमार्फत गाउँघरमै गुमेको ज्योति फर्किएपछि निकै खुसी लागेको बताइन्।

पञ्चेश्वर गाउँपालिकाको आयोजना, च्यारिटी हेल्थ फाउण्डेसन नेपालको आर्थिक सहयोग, धनगढी नेत्रालय र श्रीकृष्ण आँखा अस्पताल प्रालि टीकापुरको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो।