११ जेष्ठ २०८२ , आईतवार

गाउँमै आँखा शिविर: ९५ जनाको मोतियाबिन्दुको शल्यक्रिया, वृद्धवृद्धा हर्षित

News
११ जेष्ठ, काठमाण्डौँ ।

 रघुगङ्गा गाउँपालिकामा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा ९५ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ। तिलगङ्गा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा गाउँपालिकाले आयोजना गरेको शिविरले स्थानीय बासिन्दालाई ठूलो राहत मिलेको छ।

गाउँपालिका–७ चिमखोलाकी ८१ वर्षीया सुकुमा नेपालीले तीन वर्षदेखि मोतियाबिन्दुको समस्या झेल्दै आउनुभएको थियो। आर्थिक अभावका कारण शहरमा गएर उपचार गर्न नसकेकी उनले गाउँपालिकामै शिविर सञ्चालन भएपछि सहजै उपचार पाइन्। “बुढेसकालमा फेरि आँखा खुल्छन् जस्तो लागेकै थिएन, गाउँमै आएको शिविरमा उपचार गरेपछि अहिले राम्रोसँग देख्न सक्ने भएकी छु,” उनले भनिन्।

त्यस्तै, रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटकी धनीमाया बुद्धिजाले पनि घरआँगनमै शिविर राखेर गाउँपालिकाले ठूलो सहयोग गरेको बताइन्।

शिविरमा एक सय ६० जनाले आँखा परीक्षण सेवा लिएका छन्। यसअघि वडास्तरमा सञ्चालन गरिएको शिविरबाट एक हजार ३९ जनाले आँखा परीक्षण सेवा लिएको गाउँपालिकाले जनाएको छ। उपचार सेवा पाएकाहरूले गाउँमै सहज रूपमा आँखाको उपचार गराउन पाएकामा खुसी व्यक्त गरेका छन्। वृद्धवृद्धाले त नाचगान गरेर खुसीयाली मनाएका थिए।

गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले ग्रामीण र दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको बताए। “वडास्तरमा गरिएको शिविरमा धेरैजनामा मोतियाबिन्दुको समस्या देखिएपछि विशेषज्ञ टोलीलाई पालिकामै ल्याएर उपचार सेवा दिएका हौँ,” उनले भने। गाउँमै आँखा उपचारको विशेषज्ञ सेवा पाएपछि सर्वसाधारणलाई शहरमा पुगेर शल्यक्रिया गर्नुपर्ने बाध्यता हटेको छ।

तिलगङ्गा आँखा प्रतिष्ठान अस्पतालका नेत्र अधिकृत मनकृष्ण डङ्गोलले शिविरमा बिरामीको आँखा परीक्षण, मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया, चश्मा वितरण र एक हप्तापछि फलोअप सेवा दिइने बताए। शिविरमा बिरामीको दृष्टिसँगै मधुमेह, उच्च रक्तचाप, रगतलगायत परीक्षणसमेत गरिएको थियो। तिलगङ्गा आँखा अस्पतालका वरिष्ठ नेत्र विशेषज्ञ डा. इन्दिरा पौडेलको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले शिविरमा सेवा दिएको थियो।