चितवनका एक अटोचालकले क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै आएका छन।। उनले हरेक दिन बिहान ७ः०० देखि १०ः०० बजेसम्म नारायणगढको पुल्चोकबाट बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसम्म निःशुल्क सेवा दिँदै आएका छन।
पर्साको ठोरी गाउँपालिका–१ का स्थायी बासिन्दा २६ वर्षीय आकाश अर्यालले क्यान्सरका बिरामीको सेवा गर्दै आएका हुन । पश्चिम नेपालबाट रात्रि बसमा आएका बिरामीहरू बसबाट झर्नेबित्तिकै क्यान्सर अस्पतालसम्म पुग्न अटो चढ्नुपर्छ।
विगत चार वर्षदेखि भरतपुरमा अटो चलाउँदै आएका उनले धेरै क्यान्सर बिरामीका कथा सुनाए। कतिपय बिरामीले उपचारमा सम्पत्ति सकिएको, औषधि किन्न पैसा नभएको, खाना र बस्न पनि समस्या भएको आफ्नो दुखेसो अटोमा चढ्दै गर्दा उनिसँग पोख्थे। उनले भने, “मैले आफ्नो अटोबाट केही सहयोग गर्न सक्छु भने किन नगर्ने? भनेर निःशुल्क सेवा सुरु गरेँ।” यही सोचले उहाँले गएको मातातीर्थ औँसीदेखि निःशुल्क सेवा सुरु गर्नुभएको हो। उहाँले हरेक बिहान ७ः०० देखि १०ः०० बजेसम्म पुल्चोकबाट बिपी कोइराला क्यान्सर अस्पतालसम्म बिरामी र तिनका आफन्तलाई निःशुल्क दिँदै आएका छन ।
उनले भने, “बिहान धेरै बिरामी टोकन लिन अस्पताल पुग्छन्, त्यसैले मैले यो समय छानेको हुँ।” पश्चिमबाट आउने बसहरूले धेरै बिरामी झार्ने उनको अनुभव छ। त्यसैले उनले पुल्चोकलाई आधार बनाएर सेवा दिएको बताए। बसमा नारायणगढमा झर्ने कतिपय बिरामी उनको अटो खोज्दै आउँछन्, त कतिपयलाई उनि आफैँले बस–बसमा गएर खबर गर्नुहुन्छ।
दश बजेपछि पनि कोही बिरामी भेटिए आफन्तसहित तीन जना छन् एकजना बिरामीको भाडा उनले लिनुहुन्न। बाटोमा बुढाबुढी हिँडिरहेको देखे भने पनि उनले उनीहरूलाई निःशुल्क गन्तव्यसम्म पुर्याउनुहुन्छ। त्यसो त अन्य समयमा युवक अर्यालले व्यावसायिक रूपमा अटो चलाउनुहुन्छ र त्यही आम्दानीले परिवार चलाएका छन।
विदेश जाने तयारीमा रहनुभएका युवक अर्यालले आफ्नो मामाको विदेश अनुभव सुनेपछि स्वदेशमा नै केही गर्ने अठोट लिएको सुनाए। उनले भने, “आफ्नै देशमा बसेर आफ्नो काम गर्दै केही समय दुःखीको सेवा गर्न चाहन्छु।” सेवाका लागि धन होइन, मन चाहिने दृष्टान्त उनले प्रस्तुत गरेका छन।