सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले नेपालमा पहिलोपटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिएको मिर्गौला र कलेजो सफलतापूर्वक प्रत्यारोपण गरेको छ।
केन्द्रले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको जानकारी दिए। यही जेठ १ गते मस्तिष्क मृत्यु भएका १८ वर्षीय पुरुषबाट प्राप्त दुई मिर्गौला र एउटा कलेजो प्राप्त भएपछि काठमाडौँ मेडिकल कलेजले झिकेको अङ्गमध्ये एउटा मिर्गौला र कलेजो एकजनालाई र आर्को मिर्गौला एकजनामा सफलतापूर्वक प्रत्यारोपण गरिएको उनले बताए।
विश्वमा दुर्लभ मानिएको यस्तो प्रत्यारोपण नेपालका लागि पहिलो सफलता भएको बताउँदै केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिएको तीन अङ्गमध्ये एकजना बिरामीमा मिर्गौला र कलेजो प्रत्यारोपण गरिएको र अर्का ४२ वर्षीया एक महिलामा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए।
नेपाली टोलीबाटै सफल हुनाले चिकित्सा क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको बताउँदै कार्यकारी निर्देशक डा श्रेष्ठले सडक दुर्घटनाबाट प्रत्येक दिन चारदेखि छ जनाको मृत्यु हुने गरेको र काठमाडौँ उपत्यकामा मात्रै वार्षिक करिब एक हजार जनाको मस्तिष्क मृत्यु हुने गरिएकामा उनीहरूको अङ्ग झिकेर प्रत्यारोपण गर्न सके नेपाल अङ्ग प्रत्यारोपणमा आत्मनिर्भर हुनसक्ने बताए।
मस्तिष्क मृत्यु पश्चातको अङ्गदान र प्रत्यारोपण संसारमा कठिनताका साथ स्थापित हुँदै गएको हुँदा यससम्बन्धी जनचेतना अभिवृद्धि गर्न सकिएमा पश्चिमा मुलुकमा जस्तै नेपालमा पनि ८० प्रतिशत भन्दा बढी प्रत्यारोपण मस्तिष्क मृत्यु पश्चात हुने अङ्गदानबाट हुनसक्ने र देश अङ्ग प्रत्यारोपणमा आत्मनिर्भर बन्ने केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले बताए।
पत्रकार सम्मेलनमा बोल्दै उनले प्रत्यारोपण सेवा विस्तारका लागि केन्द्रलाई प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने सङ्घीय सरकारको घोषणा कार्यान्वयनमा ढिलाइ भइरहेको बताउँदै उपयुक्त जग्गा प्राप्त नहुँदा केन्द्र आफ्नै स्रोतबाट तीन सयदेखि पाँच सय शय्याको भवन बनाउने योजना अलपत्र परेको गुनासो गरे। अङ्ग फेल भएका गरिब नेपाली जनताको ज्यान बचाउन सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको हालसम्म आफ्नै जग्गा र भवन नभएको बताउँदै उनले उपयुक्त जग्गा तत्काल उपलब्ध गराउन सरकारसँग माग गरे।