आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखनको अन्तिम तयारी भइरहेको छ। यसमा विभिन्न क्षेत्रबाट प्राप्त सुझावलाई समेत समेट्ने काम भइरहेको छ।
अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले मुलुकको आवश्यकता तथा जनअपेक्षा, उपलब्ध साधन स्रोतको सीमा र प्राप्त सुझावलाई ध्यान दिएर बजेट लेखनको काम भइरहेको बताए। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उनको टोली बजेट निर्माणमा केन्द्रित छ। अर्थ मन्त्रालयले आगामी आवको बजेटबारे सबै विषयगत मन्त्रालय, विभागहरु, राष्ट्रिय योजना आयोग, राजनीतिक दल, जनप्रतिनिधि तथा सम्बन्धित क्षेत्रका विज्ञसँग परामर्श गरेको थियो।
अर्थमन्त्री पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतसँग परामर्श गरेका थिए। यस्तै अर्थ मन्त्रालयले पूर्वअर्थमन्त्रीहरूसँग समेत परामर्श गरेको थियो।
त्यसैगरी पूर्वअर्थ सचिवहरु, अर्थविद्हरु, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्सलगायतका विषयगत सङ्घसंस्थाहरुसँग छलफल गरेको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ। विकास साझेदारहरुसँग पनि छलफल भएको छ।
बजेट निर्माणका सन्दर्भमा जनप्रतिनिधिहरु, विभिन्न सङ्घसंस्थाका पदाधिकारी, नागरिकले पनि अर्थ मन्त्रालयलाई सुझाव दिएका थिए। अर्थ मन्त्रालयले बजेटसम्बन्धी सुझाव दिन सार्वजनिक रुपमा आह्वान गरेको थियो। सरकारको नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त तथा प्राथमिकता बारे संसद्मा छलफल भइसकेको छ।
बजेटका सिद्धान्त र प्राथमिकतामा अर्थतन्त्रमा सुधार, रोजगारी सिर्जना, डिजिटल अर्थतन्त्रको निर्माण, भौतिक पूर्वाधारको विकास, सामाजिक सुरक्षालगायतलाई क्षेत्रगत प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ। यही जेठ १४ गते संसद्मा आर्थिक सर्वेक्षण र जेठ १५ गते बजेट वक्तव्य पेश हुनेछ।