१२ कार्तिक २०८२ , बुधबार

पर्सामा लागुऔषध मुद्दा बढ्दो, १५१ जना पक्राउ

News
१६ असार, काठमाण्डौँ ।

पर्सामा लागुऔषध ओसारप्रसारका मुद्दा दर्तामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको असार १२ गतेसम्मका अवधिमा जिल्लामा लागुऔषध सम्बन्धित एक सय १४ मुद्दा दर्ता भएका छन् ।

जिल्लाको एक सय सात किलोमिटर छिमेकी मुलुक भारतसँग खुल्ला सीमा जोडिएकाले पनि लागुऔषधको तस्करी सम्बन्धित गतिविधि बढेको जनाइएको छ ।
पर्साका प्रहरी प्रमुख गौतम मिश्रले चालु आर्थिक वर्षको असार १२ गतेसम्म लागुऔषध कारोबारमा संलग्न रहेको जनाउँदै स्वदेशी तथा विदेशी गरेर एक सय ५१ जनालाई पक्राउ गरेको जानकारी दिए ।

‘‘लागुऔषधको ओसारपसारमा संलग्न रहेको भन्दै ९८ नेपाली पुरुष र छ जना नेपाली महिला पक्राउ परेका छन्,’’ उनले भने, ‘‘सोही अवधिमा ४५ विदेशी नागरिक र दुईजना विदेशी महिलासमेत सो कारोबारमा संलग्न रहेको जनाउँदै पक्राउ परेका हुन् ।’’

जिल्ला प्रहरी कार्यालय पर्साले चालु आवमा एक हजार पाँच सय ६१ किलो गाँजा पक्राउ गरेको छ । त्यस्तै छ सय २५ किलो चरेश बरामद गरेको छ । त्यस्तै तीन सय ८४ ग्राम खैरो हिरोइन र साढे एक किलो अफिम बरामद गरेको छ । त्यस्तै गरी फेनारगन एक हजार चार सय ३३ एम्पुल, डाइजेपाम चार हजार चार सय ९९ एम्पुल, नुरफिन चार हजार चार सय ६४ एम्पुल बरामद गरेको छ । त्यस्तै ट्रामाडोल दुई लाख ८९ हजार दुई सय ७४ ट्याब्लेट बरामद गरेको छ ।