जलवायु परिवर्तनका कारण दुग्ध उत्पादनमा परेको असर न्यूनीकरण गर्दै किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले चितवनमा पाँच हजार किसानलाई स्रोत किसानका रूपमा विकास गरिने भएको छ। यसका लागि जिल्लाका हरेक दुग्ध उत्पादक सहकारीमा आबद्ध किसानहरूलाई जलवायु परिवर्तनको असर र पशु चौपायले जलवायुमा पार्ने प्रभावबारे जानकारी दिए ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ र केन्द्रीय दुग्ध सहकारी सङ्घको सक्रियता एवम् हेफर इन्टरनेशनलको सहयोगमा यो तालिम कार्यक्रम सञ्चालन हुन लागेको हो। कार्यक्रमको सुरुआती चरणमा जिल्लाका सातवटै पालिकाको पशु शाखाका चिकित्सक एवम् प्राविधिक र निजी क्षेत्रका प्राविधिकहरूलाई तालिम दिइनेछ। तीन दिने तालिम पश्चात उनीहरूले पालिकामा रहेका सहकारीमा आबद्ध किसानहरूलाई प्रशिक्षण दिने बताइएको छ।
जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले जलवायु परिवर्तनले दुग्ध उत्पादनमा पारेको नकारात्मक असर र पशुका कारण जलवायुमा पर्न सक्ने असरहरूलाई मध्यनजर गर्दै किसानहरूलाई तालिम दिन लागिएको बताए। उनले तालिम लिएका किसानहरूले दुग्ध उत्पादनका क्षेत्रमा असल अभ्यास गर्ने विश्वास व्यक्त गरे।
केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अम्बरबहादुर कुवँरले दुग्ध उत्पादक किसानलाई आत्मनिर्भर बनाउन यस्तो तालिमको आवश्यकता रहेको बताए। तालिम लिएका पाँच हजार किसानबाट अन्य किसानहरूले पनि पशुपालनका नयाँ विधिहरू सिक्न पाउने उनको भनाइ थियो।
हेफर इन्टरनेशनलका कार्यक्रम संयोजक डा लेखनाथ अधिकारीले चितवनका किसानहरूलाई आत्मनिर्भर बनाउन पशुपालन क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने बताए। यहाँको असल अभ्यासले देशलाइनै सकारात्मक नतिजा दिने गरी काम हुने विश्वास उनले व्यक्त गरे।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले दुग्ध उत्पादक किसानहरूलाई असल पशुपालन अभ्यास अहिलेको आवश्यकता रहेको औँल्याए। यसका लागि तीनै तहको सरकारले सहजीकरणको भूमिका निर्वाह गर्न जरुरी रहेको उनले बताए।
बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष हरिप्रसाद पौडेलले दुग्ध उत्पादनका क्षेत्रमा काम गर्न यस्ता कार्यक्रमहरू फलदायी हुने उल्लेख गर्दै कार्यक्रमको सफलताको कामना गरे।