८ जेष्ठ २०८२ , बिहीबार

झापाको बिर्तामोड नगर अस्पतालमा सेवाग्राहीको आकर्षण बढ्दो

News
७ जेष्ठ, काठमाण्डौँ ।

एक समय सरकारी स्वास्थ्य संस्था भन्नेबित्तिकै नाक खुम्च्याउने बिर्तामोडमा अहिले नगर अस्पतालप्रति नगरवासीको विश्वास बढेको छ । सुविधा सम्पन्न भवन र गुणस्तरीय सेवाका कारण अस्पतालमा दैनिक चार सयदेखि पाँच सय जना सेवा लिन आउने गरेका छन् ।

बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईंका अनुसार स्वास्थ्य क्षेत्रलाई नगरले विशेष प्राथमिकता दिएको छ । अस्पताललाई चौबिसै घण्टा सञ्चालन गर्ने तयारी भइरहेको भएपनि नयाँ भवन निर्माणमा ढिलाइ भएका कारण समस्या भएको छ । हाल १५ शैय्याको रहेको अस्पताललाई २५ शैय्याको बनाउने लक्ष्य छ ।

नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले अस्पतालको सेवा प्रवाह प्रभावकारी भएपछि अन्य जिल्लाबाट समेत अनुभव साटासाट गर्न जनप्रतिनिधि आउने गरेको बताए । अस्पतालले चाँडै डायलाइसिस सेवा पनि सञ्चालन गर्ने तयारी गरेको छ, जसका लागि दाताबाट ६ वटा मेसिन प्राप्त भएका छन् ।

नगरपालिकामा एक नगर अस्पताल र आठ वटा आधारभूत स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ । आठ वटा आधारभूत स्वास्थ्य केन्द्र भवन रु. ३ करोड ९६ लाखको लागतमा निर्माण सम्पन्न भएका छन् भने नगर अस्पतालको भवन रु. १५ करोड ३४ लाखको लागतमा निर्माणाधीन छ ।

आधारभूत स्वास्थ्य केन्द्रबाट एक सय २७ प्रकारका औषधि निःशुल्क वितरण हुँदै आएको स्वास्थ्य शाखा प्रमुख राजिव विष्टले जानकारी दिए । नगरपालिका मातहतका स्वास्थ्य संस्थाहरूबाट हालसम्म ८९ हजार सात सय ६४ जनाले स्वास्थ्य सेवा लिएका छन् । बिर्तामोडमा घरमा प्रसूति गराउने दर शून्यमा झरेको छ । अस्पतालमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म आकस्मिक सेवा सञ्चालित छ, जहाँ चिकित्सकसहित ६० जनाको जनशक्ति कार्यरत छन् ।