न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै सङ्घीय अस्पतालमा प्रथम स्थान प्राप्त गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको मूल्याङ्कनमा ८८ प्रतिशत अङ्कसहित भरतपुर अस्पताल देशकै प्रथम स्थान प्राप्त गर्ने अस्पताल बनेको हो।
मन्त्रालयले देशभरिका १५ वटा सङ्घीय अस्पतालमा यो अनुगमन गरेको थियो। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलले उत्कृष्ट अङ्कसहित भरतपुर अस्पतालले ‘ग्रिनजोन’ स्टिकर प्राप्त गरेको जानकारी दिए। ‘ग्रिनजोन’ स्टिकर ८५ प्रतिशतभन्दा बढी अङ्क ल्याउने अस्पताललाई मात्रै दिइने गरिन्छ।
मन्त्रालयले गरेको अनुगमनमा यो अस्पतालले हरेक वर्ष स्तरवृद्धि गराउँदै आएको छ। अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार विसं २०७८ को अनुगमनमा ५२ प्रतिशत, २०७९ को अनुगमनमा ६२ प्रतिशत, २०८० को अनुगमनमा ६४ प्रतिशत, २०८१ को अनुगमनमा ७७ प्रतिशत र २०८२ को अनुगमनमा ८८ प्रतिशत अङ्क प्राप्त गरेको छ।