६ जेष्ठ २०८२ , मंगलवार

रसुवागढी नाकाबाट ७.५ किलो सुन बरामद, एक जना पक्राउ

News
५ जेष्ठ, रसुवा ।

नेपाल प्रहरीले चीनबाट अवैध तरिकाले लुकाई–छिपाई नेपाल भित्र्याइएको साढे सात किलोभन्दा बढी सुन रसुवागढी नाकाबाट बरामद गरेको छ।

प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीका अनुसार वा४ख ६२०१ नम्बरको स्याउ बोकेको ट्रकमा लुकाई–छिपाई ल्याएको अवस्थामा ७ किलो ६५३ ग्राम सुन बरामद गरिएको हो। प्रहरीले ट्रक चालक गोसाइँकुण्ड गाउँपालिका-५ स्याफ्रुबेँसीका २४ वर्षीय किशोर भुजेललाई नियन्त्रणमा लिएको छ। बरामद गरिएको सुनको बजार मूल्य रु ११ करोड ११ लाख ६४ हजार रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सुन ल्याउने भुजेल जिल्ला बाहिरबाट बसाइँ सरिआएका व्यक्ति हुन्। सुनसहित पक्राउ परेका भुजेललाई कानुनी प्रक्रिया अगाडि बढाउन रसुवा भन्सार कार्यालय टिमुरेलाई बुझाउने प्रक्रिया अगाडि बढाइएको डीएसपी शाहीले जानकारी दिए। विसं २०७२ मङ्सिर यता सुरक्षा निकायले यहाँबाट ६५ किलो ६९७ ग्राम सुन बरामद गरी कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइसकेको प्रहरीले जनाएको छ।