१४ वर्षीय युवा ब्याट्सम्यान वैभव सूर्यवंशीको ३५ बलमा अविश्वसनीय शतक र १७ बलमा कीर्तिमानी अर्धशतकको मद्दतले राजस्थान रोयल्स (RR) ले इन्डियन प्रिमियर लिग (IPL) २०२५ अन्तर्गत सोमबार भएको खेलमा गुजरात टाइटन्स (GT) लाई ८ विकेटले पराजित गरेको छ ।
जयपुरस्थित सवाई मानसिंह स्टेडियममा गुजरातले दिएको २१० रनको विशाल लक्ष्य राजस्थानले १५.५ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । राजस्थानको जितका नायक वैभव सूर्यवंशीले विस्फोटक ब्याटिङ गर्दै आईपीएल इतिहासकै दोस्रो छिटो शतक प्रहार गरे । उनले मात्र ३५ बलमा ७ चौका र ११ छक्कासहित १०१ रन बनाए । यसअघि उनले १७ बलमा अर्धशतक पूरा गर्दै आईपीएल २०२५ को सबैभन्दा छिटो र आईपीएल इतिहासकै सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान पनि बनाए । १४ वर्ष ३२ दिनका सूर्यवंशी आईपीएलमा अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।
सूर्यवंशीले भारतीय बलर इशान्त शर्माको एकै ओभरमा २८ रन तथा आईपीएलमा डेब्यु गरिरहेका अफगानिस्तानका करिम जनतको पहिलो ओभरमा ३० रन जोडेका थिए । सूर्यवंशीको यो सानदार प्रदर्शनले अर्का ओपनर यशस्वी जैसवालको ४० बलमा अविजित ७० रनको योगदानलाई समेत छायाँमा पारेको थियो । सूर्यवंशीलाई प्रसिद्ध कृष्णले बोल्ड आउट गरे । लगत्तै आएका नितिश राणालाई रशिद खानले ४ रनमा पेभिलियन फर्काएका थिए ।
सूर्यवंशी 'प्लेयर अफ द म्याच' घोषित भए । खेलपछि उनले भने, "आईपीएलमा मेरो पहिलो शतक बनाउन पाउँदा साँच्चै राम्रो महसुस भइरहेको छ । पछिल्लो तीन-चार महिनादेखि गरेको अभ्यासको नतिजा देखिएको छ । यो आईपीएलमा शतक बनाउनु सपना जस्तै हो ।"
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले कप्तान शुभमन गिलको ५० बलमा ८४ रन र जोस बटलरको २६ बलमा अविजित ५० रनको मद्दतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०९ रन बनाएको थियो । साई सुदर्शनले ३९ रन जोड्दै ओरेन्ज क्याप आफ्नो नाममा गरे ।
यो जितसँगै प्रतियोगितामा संघर्ष गरिरहेको राजस्थान रोयल्सले प्लेअफको सम्भावना जीवितै राखेको छ भने शीर्ष स्थान कब्जा गर्ने दौडमा रहेको गुजरात टाइटन्स दोस्रो स्थानमा यथावत छ ।