नेकपा (एमाले) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारको करिब टुंगो लगाएको छ । आज बसेको सचिवालय बैठकले १६५ निर्वाचन क्षेत्रमध्ये अधिकांश स्थानमा उम्मेदवार चयन गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।
बैठकले सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलालीका पाँचै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । कैलाली क्षेत्र नं. १ मा द्वारिका न्यौपाने, २ मा सूर्यबहादुर थापा, ३ मा गौरीशंकर चौधरी, ४ मा लेखराज भट्ट र ५ मा यज्ञराज ढुङ्गानालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । कञ्चनपुरमा क्षेत्र नं. १ मा कमला बोहरा, २ मा वचनबहादुर सिंह र ३ मा दीपक भट्ट उम्मेदवार रहने भएका छन् ।
त्यस्तै, अछाम क्षेत्र १ मा झपटबहादुर बोहरा र २ मा यज्ञ बोगटी, बाजुरामा लालबहादुर थापा, डोटीमा दीपक धामी, डडेल्धुरामा चक्र स्नेही, बझाङमा अफिलाल ओखेडा, बैतडीमा दामोदर भण्डारी र दार्चुलामा गणेशसिंह ठगुन्नाको नाम टुंगो लगाइएको छ ।
कर्णाली प्रदेश अन्तर्गत सल्यानमा गुलाबजंग शाह, रुकुम पश्चिममा नन्दराम देवकोटा, सुर्खेत १ मा धुर्व शाही र २ मा कुलमणि देवकोटा उम्मेदवार रहनेछन् । कालिकोटमा नागेन्द्र शाही (नेसनल), जुम्लामा शान्तिबहादुर महत, मुगुमा पूर्णबहादुर रोकाया, हुम्लामा दल फडेरा, डोल्पामा लङ्क रोकाया, दैलेख १ मा रविन्द्रराज शर्मा र २ मा लक्ष्मीराज शर्मा उम्मेदवार तोकिएका छन् ।
लुम्बिनी प्रदेशमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) १ मा रामप्रसाद पाण्डे र २ मा भगवतीप्रसाद यादव, रुपन्देही ३ मा बासुदेव घिमिरे र ५ मा खिमलाल भट्टराई, कपिलवस्तु १ मा विश्राम चौधरी र ३ मा बिरेन्द्र कडौनिया उम्मेदवार रहनेछन् । दाङ ३ मा घनश्याम पाण्डे, बाँके १ मा सूर्य ढकाल र ३ मा दलबहादुर सुनार, बर्दिया १ मा सालिकराम अधिकारी र २ मा विमला विकको नाम टुंगो लगाइएको छ ।
गण्डकी प्रदेश अन्तर्गत गोरखा १ मा आरसी लामिछाने र २ मा मिलन गुरुङ, लमजुङमा पृथ्वीसुब्बा गुरुङ, तनहुँ १ मा भगवती न्यौपाने र २ मा केदार सिग्देल, स्याङ्जा १ मा मिनप्रसाद गुरुङ र २ मा खिमबहादुर थापा उम्मेदवार रहने भएका छन् । कास्कीका तीन निर्वाचन क्षेत्रमा क्रमशः बैणबहादुर क्षेत्री, कृष्ण थापा र दामोदर बैरागी उम्मेदवार बनाइएका छन् ।
बागमती प्रदेशमा सिन्धुली १ मा प्रदीप केसी (कटुवाल) र २ मा मनोजजंग थापा, रामेछापमा माधवप्रसाद ढुङ्गेल, दोलखामा पार्वत गुरुङ, सिन्धुपाल्चोक १ मा आङदोर्जे शेर्पा र २ मा शेरबहादुर तामाङको नाम टुंगो लागेको छ । काठमाडौं जिल्लामा क्षेत्र नं. १ मा मोहन रेग्मी, २ मा मणिराम फुयाल, ३ मा रामेश्वर फुयाल, ६ मा अमनकुमार मास्के, ८ मा राजेश शाक्य र १० मा विनोद श्रेष्ठ उम्मेदवार तोकिएका छन् ।
मधेश प्रदेशमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लागेको छ भने केही क्षेत्रमा निर्णय बाँकी रहेको एमालेले जनाएको छ ।
कोशी प्रदेश अन्तर्गत झापाका पाँच निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरिएको छ । झापा ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहने भएका छन् । मोरङका केही निर्वाचन क्षेत्रमा भने उम्मेदवार टुंगो लाग्न बाँकी रहेको उपमहासचिव भट्टले जानकारी दिनुभयो ।