२२ बैशाख २०८२ , सोमबार

यूएईले एकदिवसीय मान्यता पाउँदा नेपाली महिला क्रिकेट टोली अझै प्रतीक्षारत

News
२० बैशाख, काठमाण्डौँ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले यूएईको महिला क्रिकेट टोलीलाई एकदिवसीय मान्यता दिएको छ। यो उपलब्धि यूएईका लागि ऐतिहासिक भए पनि नेपाली महिला क्रिकेट टोलीले भने अझै यो मान्यता पाउन सकेको छैन।

आईसीसीले सार्वजनिक गरेको नयाँ सूचीमा यूएई पहिलो पटक समावेश भएको छ भने अमेरिकाले मान्यता गुमाएको छ। नेपालको महिला क्रिकेट टोलीले एकदिवसीय मान्यता पाउने प्रयास गरिरहेको छ।

१२ मे २०२५ देखि लागु हुने नयाँ ओडीआई चक्र (२०२५–२९) का लागि १६ टोलीको सूची सार्वजनिक गरिएको छ। यो सूचीमा थाइल्याण्ड, स्कटल्याण्ड, पपुवा न्यू गिनी (पीएनजी), नेदरल्याण्ड्स र यूएई जस्ता पाँच एसोसिएट सदस्य राष्ट्रहरू छन्। थाइल्याण्ड र स्कटल्याण्डले सन् २०२५ को महिला विश्वकप छनोट प्रतियोगितामा छनोट भई ओडिआई मान्यता कायम राखेका हुन्।

पीएनजी र नेदरल्याण्ड्सले आफ्नो टी-२० अन्तर्राष्ट्रिय वरियताका आधारमा ओडीआई स्टाटस कायम राखेका छन्। यूएईले टी२० अन्तर्राष्ट्रिय टोली वरियतामा उच्च स्थानमा रहेकाले नयाँ ओडीआई मान्यता प्राप्त गरेको हो। ओडीआई मान्यता प्राप्त टोलीहरूले ओडीआई वरियतामा कायम रहन वा नयाँ वरियताका लागि ३–४ वर्षको अवधिमा कम्तीमा ८ वटा ओडीआई खेल्नुपर्ने हुन्छ।