राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा हुने यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आइतबारदेखि हुने भएको छ।
विद्यालय तहका प्रतिभाशाली खेलाडीलाई राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ विद्यालय खेलकुद आयोजना गरिएको राखेपद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
राखेप सदस्य–सचिव टङ्कलाल घिसिङका अनुसार प्रतियोगितामा सात प्रदेशका ४७६ खेलाडीको सहभागिता रहनेछ। प्रतियोगितामा एथलेटिक्स, टेबलटेनिस, छात्र÷छात्रा थ्री बाइ थ्री बास्केटबल, छात्र÷छात्रा रग्बी सेभेन्स, ब्याडमिन्टन र २० ओभरको छात्र क्रिकेटको प्रतिस्पर्धा हुनेछ। एथलेटिक्समा छात्र÷छात्रामा समान ६–६ तथा टेबलटेनिस र ब्याडमिन्टनमा छात्र÷छात्रामा समान २–२ स्पर्धामा खेल हुनेछ।
नेपालय इन्टरनेसनल इभेन्ट म्यानेजमेन्ट प्रालिको सह–आयोजना तथा एक्सपर्ट एजुकेसन भिसा सर्भिसेसको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा जम्मा २५ स्वर्ण, २५ रजत र ३३ कास्य गरी ८३ पदकका लागि प्रतिस्पर्धा हुनेछ।
एथलेटिक्स र रग्बी त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला, टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, बास्केटबल राखेप हाता, ब्याडमिन्टन बुढानीलकण्ठस्थित ब्याडमिन्टन एकेडेमी तथा क्रिकेट मूलपानी क्रिकेट मैदानमा खेलाइने छ।
क्रिकेट जेठ २५ देखि २९ गतेसम्म सञ्चालन हुनेछ। बाँकी ५ खेल जेठ २५ देखि २६ गतेसम्म चल्ने छ। सदस्य–सचिव घिसिङले खेलकुदको जग ग्रासरुट भन्ने धेरै सुनिए पनि व्यहारमा लागू नभएको हुँदा राखेपले जुनियर प्रतियोगिताको अवधारणालाई अघि सारेको बताए।