गणतन्त्र दिवसको अवसरमा गीतकार डा. भीष्मकुमार भुसालद्वारा रचित दुई सन्देशमूलक गीत सार्वजनिक भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा. भुसालको ‘स्वर्ग यहीँ लुकेको छ’ र ‘थरिथरि पात झरे’ बोलका गीतहरू गणतन्त्र दिवस, २०८२ का अवसरमा सार्वजनिक भएका हुन्। दिवसको अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च, टुँडिखेलमा आयोजित कार्यक्रममा डा. भुसालको ‘स्वर्ग यहीँ लुकेको छ’ बोलको गीतमा कलाकारहरूले पहिलो पटक सामूहिक नृत्य प्रस्तुत गरेका थिए।
गैह्रे सुरेशको सङ्गीत रहेको ‘स्वर्ग यहीँ लुकेको छ’ बोलको जागरण गीत स्वरूपराज आचार्य, रूपा गुरुङ, अञ्जली राई र रमिला मगरले गाएका छन्। यस गीतले नेपाल बनाउने देवदूत अरु कोही होइन, हामी प्रत्येक नेपाली हौं भन्ने वास्तविकतालाई स्वीकार गरेर राष्ट्र निर्माणमा जुट्न आव्हान गरेको छ।
यो देशलाई स्वर्ग जस्तै सुन्दर बनाउन प्रेरणा दिन्छ भने रामकृष्ण ढकालको स्वर, बिबी अनुरागीको ‘एरेन्ज’मा उत्तम पौडेलको सङ्गीत रहेको ‘थरिथरि पात झरे’ बोलको गीतले वृद्धावस्थामा हुने मनोदशा प्रस्तुत गरेको छ।