अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीपछि रुस र युक्रेनले ‘तत्काल’ शान्ति वार्ता सुरु गर्ने बताएका छन्। तर, पुटिनले ट्रम्पको बिनाशर्त युद्धविरामको आह्वानलाई अस्वीकार गरेका छन्। चुनावी अभियानमा २४ घण्टाभित्र समाधान गर्ने वाचा गरेको द्वन्द्व अन्त्य गर्ने सम्झौताको खोजीमा रहेका ट्रम्पले दुई घण्टाको कुराकानीलाई सफलताका रूपमा प्रस्तुत गरेका छन्।
पुटिनले भने सन् २०२२ फेब्रुअरीमा मस्कोले सुरु गरेको युद्ध अन्त्य गर्नेतर्फको ज्ञापनपत्रमा काम गर्न किएभसँग तयार रहेको तर दुवै पक्षबाट समझौता गर्नुपर्ने कुरामा जोड दिएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले ट्रम्पलाई अलग्गै फोनवार्तामा ‘हामीबिना’ कुनै पनि निर्णय नगर्न आग्रह गरेका छन्। पुटिनले सम्झौता गर्न अस्वीकार गरेमा बढ्दो निराशा देखाउँदै ट्रम्पले द्वन्द्व अन्त्य गर्ने आशा पुटिनसँगको व्यक्तिगत सम्बन्धमा राखेका छन्।
ट्रम्पले रुस र युक्रेनबीच ३० दिनका लागि बिना शर्त युद्धविरामको आह्वान गरेका थिए। किएभ सहमत भए पनि पुटिनले अहिलेसम्म त्यस्तो कुनै पनि युद्धविरामलाई अस्वीकार गरेका छन्। ट्रम्पसँगको कुराकानीबारे पुटिन अधिक संयमित देखिएका छन्। यद्यपि उनले युद्धविरामबारे छलफल गर्न तयार भएको अहिलेसम्मको सबैभन्दा ठोस सङ्केतहरू मध्ये एक दिएका छन्। उनका अनुसार रुसले प्रस्ताव गर्नेछ र युक्रेनी पक्षसँग भविष्यको सम्भावित शान्ति सम्झौताबारे विभिन्न स्थितिहरू परिभाषित गर्ने एक ज्ञापनपत्रमा काम गर्न तयार रहनेछ।
किएभ र पश्चिमी सहयोगीहरूलाई चिन्तित तुल्याउँदै ट्रम्प पुटिनको आलोचना गर्नबाट मोटामोटी रूपमा टाढा रहेका छन्। उनले पुटिनसँगको आमनेसामने भेटले मात्र द्वन्द्व अन्त्य गर्न सक्ने कुरामा जोड दिएका छन्। जेलेन्स्कीले पुटिनसँगको कुराकानी गर्नुअघि र पछि ट्रम्पसँग कुरा गरेका थिए। अमेरिकी राष्ट्रपतिलाई रुसले युद्धविराम गर्न अस्वीकार गरेमा प्रतिबन्धहरू कडा गर्न उनले आग्रह गरेका थिए।
ट्रम्पले पुटिनसँगको कुराकानीपछि युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेन र फ्रान्स, जर्मनी, इटाली र फिनल्यान्डका नेताहरूसहित पश्चिमी नेताहरूसँग कुरा गरेका थिए। पोप लियो चौधौँले भ्याटिकनमा रुस–युक्रेन वार्ता आयोजना गर्न प्रस्ताव गरेका छन्। युरोपेली राष्ट्रहरूले ट्रम्प–पुटिनको कुराकानीपछि तुरुन्तै युद्धविराममा सहमत नभए रुसविरुद्ध पश्चिमी प्रतिबन्धहरू कडा पार्ने किएभको आह्वानलाई समर्थन गरेका छन्। ट्रम्पले रुसले ‘यो विनाशकारी ‘रक्तपात’ समाप्त भएपछि संयुक्त राज्य अमेरिकासँग ठूलो मात्रामा व्यापार’ गर्न सक्ने लोभ देखाएका छन्। मस्कोले आफ्नो सेनाले युक्रेनको पूर्वी सुमी र डोनेट्स्क क्षेत्रका दुईवटा गाउँ कब्जा गरेको दाबी गरेको छ।