३ असार २०८२ , मंगलवार

स्याङ्जा गण्डकी प्रदेशस्तरीय टी-२० क्रिकेटको फाइनलमा

News
३ असार, काठमाण्डौँ ।

स्याङ्जा पोखरामा जारी तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय पुरूष टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सोमबार भएको समूह ‘ए’ को लिग चरणको खेलमा तनहुँलाई २९ रनले हराउँदै स्याङ्जा उपाधि नजिक पुगेको हो।

कप्तान सन्दीप क्षेत्रीको उत्कृष्ट प्रदर्शनले स्याङ्जा समूह विजेता बनेको हो। स्याङ्जाले टस जितेर पारीको सुरूआत गर्दै तनहुँविरुद्ध निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८८ रनको चुनौतीपूर्ण योगफल प्रस्तुत गरेको थियो।

सन्दीपले उत्कृष्ट ब्याटिङ गर्दै ६६ बलमा छ चौका र आठ छक्कासहित ९९ रन बनाए। खेलमा जितका लागि १८९ रनको लक्ष्य पछ्याएको तनहुँ १९ ओभरको तेस्रो बलमा सम्पूर्ण विकेट गुमाउँदै १५९ रन मात्रै बनाउन सक्यो। तनहुँको बंश क्षेत्रीले छ चौका प्रहार गर्दै ४५ बलमा सर्वाधिक ५६ रन बनाए।

यसैगरी सोमबार नै सम्पन्न बाग्लुङ र म्याग्दीबीचको खेलमा बागलुङले म्याग्दीलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सान्त्वना जित हात पारेको छ।

समूह ‘ए’को लिग चरणको अन्तिम खेलमा बागलुङ आफ्नो तीन खेलमा दुईमा हार र एकमा जित गरी दुई अङ्कका साथ समूहमा तेस्रो स्थानमा रहँदा म्याग्दी अङ्कविहीन बन्न पुग्यो।

वर्षाका कारण घटाइएको १० ओभरको छोटो खेलमा म्याग्दीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। निर्धारित १० ओभरमा म्याग्दीले तीन विकेट गुमाउँदै ६४ रन मात्र बनायो।

जवाफी ब्याटिङमा बागलुङले पाँच ओभरको तेस्रो बलमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो। बागलुङका लागि सन्दीप यादव २० रनमा अविजित रहे।

प्रादेशिक क्रिकेट सङ्घ गण्डकीको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा जारी प्रतियोगिताको लिग चरणअन्तर्गत भोली समूह ‘बी’ अन्तर्गतका खेलहरु सञ्चालन हुनेछन्।

पहिलो खेल कास्की र पर्वत तथा दोस्रो खेल नवलपुर र गोरखाका बीच सञ्चालन हुने प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो। समूह ‘बी’को बिजेताले फाइनलमा स्याङ्जासँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिता कूल आठ टोलीको सहभागिता रहेको छ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा स्याङ्जा, बागलुङ, तनहुँ र म्याग्दी रहँदा समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा छन्। प्रतियोगिताको विजेता टिमले नगद रु एक लाख र ट्रफी, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु चार हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु दुई हजारसहित ट्रफी प्रदान गरिनेछ।