अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा पनि सुनको मूल्य लगातार ओरालो लागेको छ। पछिल्ला चार दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
गत आइतबार प्रतितोला ११ हजार ६०० रुपैयाँले घट्दै दुई लाख ४१ हजार नौ सय रुपैयाँमा पुगेको सुनको मूल्य सोमबार पुनः दुई हजार रुपैयाँले घटेर दुई लाख ३९ हजार नौ सय रुपैयाँ कायम भएको थियो। त्यसपश्चात मङ्गलबार प्रतितोला दुई हजार नौ सय रुपैयाँले घट्दै दुई लाख ३७ हजार रुपैयाँमा झरेको थियो। बुधबार पुनः सात सय रुपैयाँले कमी भई सुनको मूल्य दुई लाख ३६ हजार तीन सय रुपैयाँमा स्थिर भएको महासङ्घको विवरणमा उल्लेख छ।
यसैबीच, चाँदीको मूल्य भने वृद्धिशील रहेको छ। मङ्गलबार प्रतितोला दुई हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर दुई हजार ९६५ रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस करिब तीन हजार ९६० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको जानकारी पनि महासङ्घले दिएको छ।