१६ जेष्ठ २०८२ , शुक्रबार

गणतन्त्रपछि खेलकुदमा फड्को : पूर्वाधार विकासदेखि अन्तर्राष्ट्रिय पदकसम्म

News
१४ जेष्ठ, काठमाण्डौँ ।

नेपालमा गणतन्त्र स्थापना भएपछि खेलकुद क्षेत्रमा उल्लेख्य सुधार भएको छ । राजनीतिक संरचना परिवर्तन भई लोकतन्त्रको आगमनसँगै खेलकुदमा विभिन्न परिवर्तन भएका छन् ।

बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि स्थापना भएको खेलकुद मन्त्रालयले यस क्षेत्रलाई समयसापेक्ष बनाउन प्रयास गरिरहेको छ । खेलकुदमा खेलाडीको सहभागिता बढ्नुका साथै नयाँ खेल भित्रिने क्रम जारी छ । सीमित स्रोतसाधनका बाबजुद नेपाली खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न उपलब्धि हासिल गरेका छन् ।

प्रदेशस्तरमा खेलकुदको विकास

गणतन्त्रपछि पहिलोपटक सातै प्रदेशमा खेलकुदको आधिकारिक निकाय विकेन्द्रीकरण गरिएको छ । प्रत्येक प्रदेश सरकारअन्तर्गत युवा तथा खेलकुद मन्त्रालय स्थापना गरी युवा तथा खेलकुद क्षेत्रको जिम्मेवारी हस्तान्तरण गरिएको छ । जसले प्रादेशिक नीति, कानुन, मापदण्ड निर्धारण, कार्यान्वयन र नियमन गरिरहेको छ ।

प्रदेशस्तरीय खेलकुद मन्त्रालयले खेलकुद तथा खेलकुद पूर्वाधारको विकास र प्रवद्र्धन, खेलकुद प्रशासन र सङ्घसंस्थाको समन्वय र नियमन गर्दै आएको छ । मन्त्रालयले राष्ट्रिय र प्रादेशिक खेलकुद प्रतियोगिता आयोजना गर्नुका साथै युवा तथा खेलकुदसम्बन्धी अन्य गतिविधि सञ्चालन गरिरहेको छ ।

त्यस्तै, राष्ट्रिय खेलकुद परिषद्ले सातै प्रदेशमा प्रदेश खेलकुद परिषद् स्थापना गरेको छ । यसले खेल संस्कृतिको विकास, खेलकुद पूर्वाधार निर्माण, खेलाडीको व्यावसायिक सुरक्षा, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा हुने प्रतियोगितामा सहभागिताजस्ता क्षेत्रमा काम गरिरहेको छ । युवा तथा खेलकुद मन्त्रालय मातहत रहेको परिषद्अन्र्तगत जिल्ला खेलकुद विकास समिति र पालिका खेलकुद विकास समिति गठन भएका छन् ।

आर्थिक सम्मानको सुनिश्चितता

सरकारले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने परम्परालाई निरन्तरता दिएको छ । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार दक्षिण एसियाली खेलकुद, एसियाली खेलकुद, ओलम्पिकका साथै अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई आर्थिक पुरस्कारद्वारा सम्मानित गर्ने व्यवस्था गरिएको छ ।

खेलाडीको उपचारमा सहयोग

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा दुर्घटनामा परेका खेलाडी तथा प्रशिक्षकलाई आर्थिक सहायता दिनका लागि खेलाडी कल्याणकारी कोषको व्यवस्था गरिएको छ । मुटु रोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाईनल इन्जुरी, हेड इन्जुरी, सिकलेस एनिमियाजस्ता कडा रोग लागेका खेलाडी तथा प्रशिक्षकले उपचारका लागि आर्थिक सहयोग पाउने भएका छन् ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ ले खेलमा अनियमितता तथा मिलोमतो गर्न नहुने व्यवस्था गरेको छ । यस ऐनले खेलाडीलाई प्रतिबन्धित औषधि सेवन गर्न गराउन नहुने, खेलकुद प्रतियोगितामा दर्शकले पालना गर्नुपर्ने आचारसंहिता, खेल र खेलाडीको वर्गीकरण, खेलाडीहरूको सामाजिक सुरक्षा, चार प्रदेशका खेल सङ्घ आपसमा मिलेर राष्ट्रिय खेल सङ्घ वा महासङ्घ गठन गर्न सक्ने, नेपालका मौलिक तथा परम्परागत खेल तोक्ने जस्ता कुराहरू उल्लेख गरिएको छ ।

भौतिक पूर्वाधारको अवस्था

गणतन्त्र आएपछि खेलकुदका विभिन्न पूर्वाधार निर्माण तथा मर्मतसम्भार गरिएको छ । चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, पोखरा रङ्गशाला, नेपालगञ्ज रङ्गशाला, धनगढी रङ्गशाला, ललितपुरको च्यासल रङ्गशाला आदिमा आवश्यक निर्माण तथा मर्मतसम्भार कार्य गरिएको छ । कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लडलाइट राख्ने कार्य जारी छ ।

बागमती प्रदेश सरकारले हेटौँडामा गौरीटार रङ्गशाला निर्माण गरेको छ । त्यहाँ ट्र्याकसहितको फुटबल मैदान, मार्सलआर्टका कभर्डहल, प्यारापिटसहितको क्रिकेट पीच, पौडीपोखरी र खेलाडी आवास गृह बनाइएको छ । कर्णाली प्रदेश सरकारले सुर्खेतमा कर्णाली रङ्गशाला निर्माण गरेको छ । दाङको बेलझुण्डीमा रहेको रङ्गशालामा सेन्थटिक्स ट्र्याक अन्य सुविधाको व्यवस्था गरिएको छ । विभिन्न जिल्लामा २२ वटा सेमिकभर्डहलहरू बनाइएका छन् । सिमरा रङ्गशाला, भैरहवा क्रिकेट रङ्गशाला र कोहलपुर क्रिकेट रङ्गशाला महत्वपूर्ण खेलकुद पूर्वाधार बनेका छन् ।

राष्ट्रिय गौरवका आयोजनामा खेलकुद

नेपाल सरकारले २०८१/८२ को वार्षिक बजेटमा खेलकुदलाई पनि राष्ट्रिय गौरवको आयोजनाका रुपमा समावेश गरेको थियो । काठमाडौँको गोकर्णस्थित मूलपानी क्रिकेट रङ्गशाला र विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिएको थियो ।

राष्ट्रिय खेलकुद प्रतियोगिता

नेपालमा २०३८ सालमा सुरु गरिएको राष्ट्रिय खेललाई गणतन्त्रमा पनि निरन्तरता दिइएको छ । २०६५ सालमा पाँचौँ, २०६८ सालमा छैटौँ, २०७३ सालमा सातौँ, २०७५ सालमा आठौँ र २०७९ सालमा नवौँ राष्ट्रिय प्रतियोगिता आयोजना गरिएको थियो ।

नेपालमा विभिन्न खेलका जारी प्रतियोगिताले नयाँ नयाँ प्रतिभाहरूको छनोटका लागि सहयोग पुर्‍याइरहेको छ । यु-१४ विद्यालय खेलकुद, राष्ट्रपति रनिङशिल्ड, विश्वविद्यालय खेलकुदजस्ता प्रतियोगिता पनि खेलाडी उत्पादनका लागि उपयुक्त माध्यम बनिरहेका छन् ।

समावेशीता

फरक क्षमताका खेलाडीहरूको पारा तथा खेलकुद प्रतियोगिता, राष्ट्रपति महिला खेलकुद सहभागिता अभिवृद्धि कार्यक्रम, परम्परागत खेलकुद प्रतियोगिता, सबैका लागि खेलकुदः यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूका लागि खेलकुद, आदिवासी जनजाति खेलकुद कार्यक्रम आदिले नेपाली खेलकुद जगत्लाई समावेशी बाटोतर्फ डोर्‍याएको छ ।

अन्तर्राष्ट्रिय पदक

सन् १९६४ देखि ओलम्पिकमा भाग लिँदै आएको नेपालले ६१ वर्षमा पहिलोपटक ओलम्पिकमा पदक जित्यो । नेपाली पारा ताइक्वाण्डो खेलाडी पलेशा गोवद्र्धनले फ्रान्सको पेरिसमा सम्पन्न पारा ओलम्पिकमा ताइक्वाण्डोको ५७ केजी तौल समूहमा कास्य पदक जितिन् ।

कराते खेलाडी एरिका गुरुङले हाङचाउ एसियाली खेलकुदमा नेपाललाई २५ वर्षपछि व्यक्तिगत प्रतिस्पर्धामा रजत पदक दिलाउन सफल भइन् । टिम इभेण्टस्को पहिलो एसियाली रजत पदक भने नेपालले सन् २०१८ मा जितेको थियो । सन् २०१० मा चीनको ग्वाङझाउमा बक्सिङतर्फको ८१ केजी तौल समूहको लाइट हेभिवेटमा दीपक महर्जन, सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा करातेतर्फ एकल कातामा बिमला तामाङले काँस्य पदक पाएका थिए ।

सन् २०१० मा बङ्गलादेशको राजधानी ढाकामा सम्पन्न ११औँ दक्षिण एसियाली खेलकुदमा नेपालले आठ स्वर्ण, नौ रजत र १९ कास्य पदक जितेको थियो । सन् २०१६ मा भारतको आसाममा भएको १२औँ एसियाली खेलकुदमा नेपालले तीन स्वर्ण, २३ रजत तथा ३५ काँस्य पदक पाएको थियो । सन् २०१९ मा नेपालमा आयोजित १३औँ दक्षिण एसियाली खेलकुदमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कास्य पदक प्राप्त गरेको थियो ।

क्रिकेटमा छलाङ

नेपालले पुरुष क्रिकेटमा सन् २०१८ मा एकदिवसीय मान्यता प्राप्त गर्न सफल भएको थियो । नेपाल सन् २०२३ मा एसिसी पुरुष प्रिमियर कपको फाइनलमा संयुक्त अरब इमिरेटसलाई हराएर एसिसी एसिया कपका छनोट हुन सफल भएको थियो । नेपाल सन् २०२४ को आइसिसी टि-ट्वाण्टी विश्वकपमा सफल छनोटसँगै एसिया कपमा सहभागी भएको थियो । नेपाली पुरुष क्रिकेट टिम अहिले विश्वको एक दिवसीय वरियतामा १७औँ तथा टि-ट्वाण्टी वरियतामा १८औँ स्थानमा रहेको छ ।

फुटबलमा सफलता

गणतन्त्रपछि नेपालको पुरुष फुटबल टिमले सन् २०१५ मा साफ यू-१९ च्याम्पियनसीप र सन् २०१६ मा बङ्गबन्धु कप र एएफसी सोलिडारिटी कप जितेको थियो । सन् २०१६ मै एसियाली खेलकुदमा फुटबलतर्फ स्वर्ण पदक प्राप्त भएको थियो । सन् २०२१ को साफ च्याम्पियनसीपमा नेपाल दोस्रो भएको थियो । नेपाली महिला राष्ट्रिय फुटबल टिम धेरैपटक दोस्रो भएको छ ।

भलिबल राष्ट्रिय खेल घोषणा

नेपाल सरकारले २०७४ साल जेठमा भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेको थियो ।

नेपालका फुटबल, भलिबल, कबड्डीलगायतका खेलाडी विदेशका टिमसँग आबद्ध भएर व्यावसायिक खेल खेल्न अवसर पाउनु मुलुककै गौरवको विषय बनेको छ । क्रिकेट, फुटबल, भलिबल, कबड्डीलगायतका खेलमा टिम सञ्चालनदेखि प्रतियोगिताको आयोजनासम्मको प्रक्रियामा नेपाली निजी क्षेत्र अगाडि आउनु नेपालको खेलकुद जगतका लागि शुभसङ्केत हो ।