मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले उक्लिएर २५७१ अंकमा पुगेको छ। बजार खुलेको केही मिनेटपछि नेप्से रातो देखिए पनि करिब १० मिनेटपछि हरियोमा फर्कियो र दिनभर सकारात्मक रह्यो।
कारोबार रकममा पनि उल्लेखनीय वृद्धि भएको छ। अघिल्लो आइतबार २ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएकोमा आज कारोबार रकम ४ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। २३६ कम्पनीको मूल्य बढ्दा १२ कम्पनी घटे र २ कम्पनी स्थिर रहे।
समूहगत सूचकमा विकास बैंक समूह सबैभन्दा धेरै ४.४७ प्रतिशतले बढ्यो। त्यसपछि हाइड्रोपावर ३.९०, जीवन बीमा ३.५५, लगानी ३.१९, फाइनान्स ३.१४, होटल तथा पर्यटन २.८०, माइक्रोफाइनान्स २.५९, निर्जीवन बीमा २.५४, बैंकिङ १.९२ र अन्य समूह १.९१ प्रतिशतले उक्लिए।
तीन कम्पनी — न्यादी हाइड्रोपावर, बुटवल पावर कम्पनी र एक्सल डेभलपमेन्ट बैंक — को मूल्य १० प्रतिशतले वृद्धि भयो। साथै, राधि विद्युत ९.६०, लुम्बिनी विकास बैंक ९.३५, सिंगटी हाइड्रो इनर्जी ८.२१ र फस्र्ट माइक्रोफाइनान्स ८.१२ प्रतिशतले बढे।
त्यसैगरी, हिमालयन पावर पार्टनर को मूल्य सबैभन्दा बढी ६.३६ प्रतिशत घट्यो। युनिलिभर नेपाल ३.८८ र बोटलर्स नेपाल बालाजु ३.७७ प्रतिशतले ओरालो लागे।
आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा हिमालयन पावर पार्टनर, युनियन हाइड्रोपावर, राधि विद्युत, बुटवल पावर र एनआरएन इन्फ्रास्ट्रक्चर रहेका छन्।