प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू र जेनजीका प्रतिनिधिबीच आज त्रिपक्षीय संवाद आह्वान गर्नुभएको छ।
भदौ २३ र २४ गते भएको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सरकारले पहिलो पटक यस्तो संवाद आयोजना गर्न लागेको हो।
प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण निर्माणका लागि सम्बद्ध सबै पक्षसँग सघन वार्ता र छलफल गरिरहनुभएको छ। उहाँकै पहलमा प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे सरकार, राजनीतिक दलहरू र जेनजी प्रतिनिधिबीच निर्वाचनकेन्द्रित त्रिपक्षीय संवाद हुने कार्यक्रम तय गरिएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार यो बैठक निर्वाचनको माहोल बनाउनको लागि पहिलो पटक आयोजना गरिएको संयुक्त संवाद हो। उहाँले निर्वाचन सफल बनाउन सरकारले राजनीतिक दल र सम्बद्ध पक्षसँग चरणबद्ध वार्ता र छलफल गरिरहेको जानकारी दिनुभयो।
यसअघि कात्तिक ४ गते प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत विघटित संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग पनि संवाद गर्नुभएको थियो। उक्त बैठकमा दलहरूले निर्वाचन समयमै सम्पन्न गर्न अनुकूल वातावरण बनाउन सरकारलाई आग्रह गरेका थिए।
प्रधानमन्त्री कार्कीले हाल पनि जेनजीका प्रतिनिधिसहित विभिन्न पक्षसँग निरन्तर संवाद गरिरहनुभएको छ।
सरकारले निर्वाचन आयोगसँग प्राविधिक तयारीबारे छलफल गर्दै तयारीका काम अघि बढाएको छ।
निर्वाचन आयोगले पनि आफ्नो क्षेत्राधिकारभित्रका कामहरू सुरु गरिसकेको छ।