२२ बैशाख २०८२ , सोमबार

राससका उपसम्पादक बस्नेत सम्मानित

News
१७ बैशाख, काठमाण्डौँ ।

राष्ट्रिय समाचार समिति (रासस)का उपसम्पादक कमलकुमार बस्नेत सम्मानित भएका छन् ।

१३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवसको पूर्वसन्ध्यामा समाजवादी ट्रेड युनियन महासङ्घ नेपालको चौथो महाधिवेशनमा उपसम्पादक बस्नेत लगायतका सञ्चारकर्मीलाई सम्मानपत्र प्रदान गरिएको हो ।

उक्त महाधिवेशनमा न्यून २४ का नवराज चालिसे, रातोपाटी डट कमका राजकुमार सिग्देल, अन्नपूर्ण पोष्ट दैनिकका राधा खनाल, कान्तिपुर टेलिभिजनका सुमन पन्थ र मेगा टेलिभिजनका कृष्णनन्द भट्ट पनि सम्मानित भएका छन् । महासङघले लामो समयदेखि पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय भएका सञ्चारकर्मीलाई सम्मान गरेको जनाएको छ।

त्यसअवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष जगत सिम्खडाले सबै क्षेत्रका मजदुर एकजुट हुन आवश्यक रहेको उल्लेख गर्दै सरकारले मजदूरहरुलाई सहुलियत रुपमा रासन कार्ड उपलब्ध गराउनुपर्ने माग गरेका थिए। उनले २०८२ साल तलब बढाउने वर्ष भएको उल्लेख गर्दै न्यूनतम पारिश्रमिक मासिक रु ३० हजार बनाउन आवश्यक भएको र यसमा सबैको साथ जरुरी भएको बताएका थिए।

समाजवादी ट्रेड युनियन महासङघ नेपालका अध्यक्ष नवराज दाहालले सबै क्षेत्रका मजदुर एकजुट हुन आवश्यक रहेकाले मजदुरका माग र अधिकारको रक्षाका लागि सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए।

ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवर र जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ लगायतका सरोकारवालाले श्रमिकहरूको महत्व तथा हक र अधिकारबारे चर्चा गरेका थिए।