राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता सांस्कृतिक पर्वहरूले सम्पूर्ण नेपाली समाजमा बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ।
माघे सङ्क्रान्ति एवम् माघी पर्व २०८२ को अवसरमा बिहीबार स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक नेपाली समाजमा यस्ता पर्वहरूको महत्व औँल्याउनुभएको हो।
शुभकामना सन्देशमा उहाँले माघे सङ्क्रान्ति जस्ता पर्वले जातीय सद्भाव कायम गर्नुका साथै विविधताको सम्मान र राष्ट्रिय एकता प्रवर्द्धनमा योगदान पुर्याउने उल्लेख गर्नुभएको छ। यस्ता पर्वहरूले नेपाली समाजमा आपसी समझदारी र सहअस्तित्वको भावना बलियो बनाउने उहाँको भनाइ छ।
राष्ट्रपति पौडेलले माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति पर्व नेपालका विभिन्न जातजातिले आ–आफ्नै मौलिक परम्परा र सांस्कृतिक विशेषतासहित हर्षोल्लासपूर्वक मनाउने उल्लेख गर्नुभएको छ। विशेषतः थारू समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउने प्रचलन रहेको उल्लेख गर्दै उहाँले यस पर्वले समुदायगत पहिचान र सांस्कृतिक निरन्तरतामा योगदान पुर्याएको बताउनुभएको छ।
यस अवसरमा घ्यू, चाकु, तरुल, तिलको लड्डु, सेलरोटी, ढिक्री र खिचडीजस्ता परिकारहरू खाने तथा परिवारसँग आत्मीयता साटासाट गर्ने परम्परा रहिआएको उल्लेख पनि उहाँले गर्नुभएको छ।
राष्ट्रपति पौडेलले माघे सङ्क्रान्तिका दिन बराहक्षेत्र, देवघाट, रिडीक्षेत्रलगायत देशका विभिन्न पवित्र नदी र त्रिवेणीहरूमा स्नान गरी मन्दिरमा पूजाअर्चना गर्ने धार्मिक परम्पराले नेपाली समाजको सांस्कृतिक पहिचानलाई अझ समृद्ध बनाएको धारणा व्यक्त गर्नुभएको छ।
यस्ता विशिष्ट मौलिक सांस्कृतिक सम्पदाले नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले माघे सङ्क्रान्ति तथा माघी पर्वले संस्कृतिको संरक्षण गर्दै सभ्य, सुसंस्कृत र समतामूलक समाज निर्माणका लागि सबैलाई प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्नुभएको छ।