२ कार्तिक २०८२ , आईतवार

पोखरामा विद्यालय व्यवस्थापन समितिका अध्यक्षमाथि कालो मसी दल्ने योजनाकारसहित तीन जना पक्राउ

News
३१ असार, काठमाण्डौँ ।

कास्की प्रहरीले विद्यालय व्यवस्थापन समितिका अध्यक्षमाथि कालो मसी दल्ने योजनाकारसहित तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीले पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटन, राजमहल स्थित छोरेपाटन माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री पहारीलाई कालो मसी दल्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मुख्य योजनाकार बझाङका लोकेन्द्र विश्वकर्मा, कालो मसी दल्ने अछामका राजन साउद र बाजुराका वासुदेव बुढा रहेका छन्। विश्वकर्मा नेपाल कम्युनिष्ट पार्टी बहुमत व्युरो केन्द्रिय सदस्य, साउद नेपाल क्रान्तिकारी विद्यार्थी संघ गण्डकी प्रदेशको संयोजक र बुढा नेपाल क्रान्तिकारी विद्यार्थी संघ कास्की जिल्ला संयोजक रहेको प्रहरीले जनाएको छ।

उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर अन्तर्गत अभद्र व्यवहार गर्न नहुने मुद्दामा दश दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ। साथै उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २५३ आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसूरमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरुको साथबाट विभिन्न सहयोग रसिद, पत्र, डायरी, पुस्तक, फ्लेक्स प्रिन्ट ब्यानर र मोबाइल बरामद गरेको छ।