११ कार्तिक २०८३ , मंगलवार

पाँचखालमा राष्ट्रिय खुला सोतोकान कराते प्रतियोगिता आयोजना हुने

News
२७ जेष्ठ, काठमाण्डौँ ।

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा राष्ट्रिय खुला सोतोकान कराते प्रतियोगिता हुने भएको छ। नेपाल सोतोकान कराते–डो एसोसिएसन काभ्रेपलाञ्चोकद्वारा यही जेठ ३० र ३१ गते प्रतियोगिता आयोजना हुन लागेको हो।

आयोजकद्वारा सोमबार बनेपामा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगितामा कम्तीमा १४ वटा जिल्लाका खेलाडी सहभागी हुने जानकारी गराइएको छ। प्रतियोगितामा तीन सय खेलाडीले २५ विधामा प्रतिस्पर्धा गर्ने आयोजकका सचिव राममणि काफ्लेले जानकारी दिए। उनका अनुसार २४ स्वर्ण, २४ रजत र ४८ वटा कास्य गरी जम्मा ९६ पदकका लागि प्रतिस्पर्धा हुनेछ।

पुरुष अफिसियल तौल समूहतर्फ ३०, ३५, ४०, ४५, ५०, ५५, ६०, ६५ र ७० प्लस–फ्री तथा महिला अफिसियल तौल समूहतर्फ २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६० र ६५ प्लस–फ्री मा प्रतिस्पर्धा हुनेछन्। यस्तै, पुरुष एकल काता एक सिनियर, महिला एकल काता एक सिनियर, पुरुष एकल काता एक जुनियर र महिला एकल काता एक जुनियरमा प्रतिस्पर्धा हुने जनाइएको छ।

प्रतियोगितामा प्रथम हुने जिल्लाले रु १० हजार, दोस्रो हुनेले रु सात हजार ५०० र तेस्रो हुने जिल्लाले रु पाँच हजार नगद र ट्रफी पाउनेछन्। पत्रकार सम्मेलनमा नेपाल सोतोकान कराते–डो एसोसिएसनका प्रमुख प्रशिक्षक धर्जेमान तामाङले प्रतियोगिताले जिल्ला हुँदै राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा नयाँ खेलाडी उत्पादनमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे।