२४ फाल्गुन २०८२ , आईतवार

एनपीएल सिजन २ को उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी बिच निर्णायक भिडन्त

News
२७ मंसिर, काठमाण्डौँ ।

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत फाइनल खेल शनिबार आयोजना हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने उक्त फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स पहिलो उपाधिका लागि आमनेसामने हुनेछन्।

सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्ग्सलाई ७७ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। त्यस्तै, लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले हराउँदै निर्णायक खेलमा स्थान सुरक्षित गरेको हो। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको थियो।

कप्तान दीपेन्द्रसिंह ऐेरीको नेतृत्वमा रहेको सुदूरपश्चिम रोयल्स यस संस्करणको प्रमुख उपाधि दाबेदारका रूपमा हेरिएको छ। गत संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पाँच विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक त्यो कमी पूरा गर्दै उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रनेछ।

यता, कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स गत संस्करणमा लिग चरणबाटै बाहिरिएको थियो। तर यस संस्करणमा उल्लेखनीय सुधारसहित फाइनलमा प्रवेश गरेको लुम्बिनी कुनै पनि हालतमा पहिलो उपाधि हात पार्ने रणनीतिमा देखिएको छ। लिग चरणमा यी दुई टोलीबीच भएको भेटमा सुदूरपश्चिमले सात विकेटको जित निकालेको थियो।

प्रतियोगिताको विजेता टोलीले नगद एक करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५१ लाख रुपैयाँ पाउनेछ। तेस्रो स्थान हासिल गर्ने टोलीलाई २५ लाख र चौथो हुने टोलीलाई १५ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल आठ टोलीको सहभागिता रहेको थियो।