२४ फाल्गुन २०८२ , आईतवार

नयाँ सुरक्षा विशेषतासहित १०० रुपियाँको नोट आजदेखि चलनचल्तीमा

News
११ मंसिर, काठमाण्डौँ ।

नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले बिहीबार सूचना जारी गर्दै नोटको सार्वजनिक वितरणको जानकारी प्रदान गरेको हो।

नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप समावेश गरिएको छ। नोटको मध्य भागमा नेपालको नक्सा र अशोक स्तम्भको चित्र स्थान पाएको छ।

साबिककै आकार र रङमा आएको यस नोटमा स्पष्ट रूपमा उल्लेख गरिएको छ — “नेपाल सरकारको जमानत प्राप्त यस नोटको भुक्तानी माग भएमा नेपाल राष्ट्र बैंकबाट तुरुन्त १०० रुपियाँ प्राप्त हुनेछ।”

दृष्टिविहीन व्यक्तिहरूले नोटको मूल्य छामेर पहिचान गर्न सक्ने सुविधा समेत राखिएको छ। अशोक स्तम्भको बायाँतर्फ अण्डाकार भित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र र नोटको सुरक्षा धागो पनि थपिएको छ। सुरक्षा धागो २ मिमी चौडाइको छ र यसलाई सीधा हेर्दा रातो रङ तथा ढल्काएर हेर्दा हरियो रङमा देखिने व्यवस्था गरिएको छ।

नोटमा तत्कालीन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ भने तल्लो भागको बोर्डरमा सिरिज नम्बर नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको छ।