नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार एक औपचारिक कार्यक्रम आयोजना गरी विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले टोलीलाई शुभकामना दिँदै बिदाइ गर्नुभएको हो ।
सो अवसरमा नेता डा. शर्माले वेस्ट इन्डिजसँगको टी–२० शृङ्खला जितेको नेपाली टोलीलाई पूर्वघोषित २० लाख रुपियाँ पुरस्कार रकम हस्तान्तरण गर्नुभयो । साथै, आगामी विश्वकपमा नेपाली टोली सुपर आठ चरणमा प्रवेश गर्न सफल भए थप २० लाख रुपियाँ प्रदान गर्ने घोषणा पनि गर्नुभयो ।
डा. शर्माले नेपाली राष्ट्रिय महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडी र उनीहरूको परिवारलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै सम्झौताको अवधि सकिए पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, उहाँले खेलाडी जीवनबाट अवकाशपछि राज्यस्तरबाट पेन्सनको व्यवस्था गर्न नेपाल सरकारसँग माग गर्नुभएको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले टेस्ट राष्ट्रसँग अभ्यास खेल नखेल्नुपरे पनि निरन्तर व्यस्त तालिकाका कारण टोलीको तयारी सन्तोषजनक रहेको बताउनुभयो । उहाँले नेपाली टोली सन्तुलित रहेको उल्लेख गर्दै यसपटक सुपर आठमा पुग्ने आशा व्यक्त गर्नुभयो । नेपाली टोलीले यस विश्वकपमा देशलाई गर्व गर्न लायक प्रदर्शन गर्ने उहाँको विश्वास छ ।
क्यानका सचिव तथा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले नेपाली क्रिकेट टोलीप्रति देश र अन्तर्राष्ट्रिय क्रिकेट जगतको ठूलो अपेक्षा रहेको बताउनुभयो । खेलाडीहरू सबैका आदर्श पात्र भएकाले खेलमैदान बाहिरका गतिविधि पनि उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले अनुशासनमा रहन सुझाव दिनुभयो ।

पारस खड्काले विश्वकपपछि पनि एउटा टेस्ट राष्ट्रसँग शृङ्खला खेल्ने प्रक्रियामा छलफल भइरहेको जानकारी दिनुभयो । वेस्ट इन्डिजविरुद्धको जितपछि टोलीको मनोबल उच्च भएकाले टेस्ट राष्ट्रसँग खेल आयोजना गर्न पहल भइरहेको उहाँको भनाइ छ । नतिजा जे भए पनि यो विश्वकप नेपाली क्रिकेटका लागि ठूलो अवसर रहेको उहाँले उल्लेख गर्नुभयो ।
पारस खड्काकै कप्तानीमा नेपालले सन् २०१४ मा बङ्गलादेशमा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो । दोस्रो पटक विश्वकप खेल्न नेपाललाई १० वर्ष लागेको थियो भने यसपटक भने लगातार तेस्रो विश्वकप खेल्न लागेको हो । यस विश्वकपमा नेपाल समूह ‘सी’ मा रहेको छ, जहाँ इङ्ल्यान्ड, इटाली, वेस्ट इन्डिज र बङ्गलादेश रहेका छन् ।