३ जेष्ठ २०८२ , शनिबार

कांग्रेस नेता महेश कोर्मोचाको निधन

News
३ जेष्ठ, काठमाण्डौँ ।

 नेपाली कांग्रेसका नेता महेश कोर्मोचाको निधन भएको छ। ओखलढुङ्गा जिल्ला विकास समितिका पूर्वसभापति एवं नेपाली कांग्रेसका पुराना नेता ८२ वर्षीय कोर्मोचाको उपचारका क्रममा गएराति काठमाडौँस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो।

विसं २००२ मा ओखलढुङ्गाको खिजीचण्डेश्वरीमा जन्मिएका कोर्मोचा २०३१ सालको टिमुरबोटे काण्डमा बच्न सफल भएका थिए। उनले नेपाली राजनीतिमा लामो समय योगदान गरे। विसं २००७ मा भएको क्रान्तिमा कांग्रेसका चिट्ठी ओसार्ने जिम्मेवारी पाएका उनी पछि ओखलढुङ्गा जिल्ला पार्टीको सभापति र तत्कालीन जिल्ला विकास समितिको सभापतिसमेत बने।

विसं २०१७ पुस १ गते राजा महेन्द्रले प्रजातन्त्रविरुद्ध ‘कु’ गरेपछि प्रशासनसँग बच्न गाउँका १५ जना युवालाई लिएर कोर्मोचा ब्रिटिस आर्मीमा भर्ती हुन धरान गएका थिए। ब्रिटिस आर्मीमा उनले आठ वर्ष सेवा गरे।

विसं २०३१ पुस १ गते सोलु ब्यारेक कब्जा गर्ने योजनाअनुसार मङ्सिर २९ गते टिम्बुरबोटेको जङ्गलमा पुगेको कांग्रेसको टोलीमा कोर्मोचा पनि थिए।

विसं २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर बिपी स्वदेश फर्किएपछि महेश पक्राउ परेका थिए। राज्यविरुद्धको मुद्दामा उनले पटकपटक गरी आठ वर्षको जेल जीवन बिताए।

विसं २०४६ को बहुदलीय व्यवस्था पुनःस्थापनापछि कोर्मोचा दुई पटक जिविस सभापति र दुई पटक ओखलढुङ्गा कांग्रेसको सभापति भए।

बाल्यकालदेखि आबद्ध रहेको कांग्रेस पार्टीमा ७० वर्ष बिताएका कोर्मोचाले २०७३ सालमा कांग्रेस परित्याग गरेर पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा आबद्ध भएका थिए। नयाँ शक्ति त्यागेर विजयकुमार गच्छादार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमको सहसंयोजकसमेत बनेका कोर्मोचा पुनः कांग्रेसमै फर्किएर सक्रिय राजनीति गरिरहेका थिए।

उनको जन्मथलो ओखलढुङ्गाकै खिजीचण्डेश्वरीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। कोर्मोचाका श्रीमती, एक छोरा र एक छोरी छन्।