आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपालले लगातार दोस्रो अभ्यास खेलमा जित निकालेको छ। शनिबार भारतको एमसिए प्रेसिडेन्ट–११ विरुद्ध ४८ रनको प्रभावशाली जित निकाल्दै नेपालले आफ्नो तयारीलाई मजबुत बनाएको हो। यसअघि बिहीबार भएको पहिलो अभ्यास खेलमा पनि नेपालले सात विकेटको जित हात पारेको थियो।
शनिबारको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १८३ रन बनायो। नेपालका लागि आरिफ शेखले उत्कृष्ट अर्धशतक प्रहार गर्दै ४२ बलमा अविजित ६६ रन बनाउनुभयो। सन्दीप जोराले २६ बलमा ३१ रन जोड्नुभयो भने आशिफ शेखले २५ र गुल्सन झाले २३ रन बनाउँदै आउट हुनुभयो। लोकेश बमले १५ तथा बसिर अहमेदले ९ रन थप्नुभयो।
१८४ रनको लक्ष्य पछ्याएको एमसिए प्रेसिडेन्ट–११ ले २० ओभरमा आठ विकेटको क्षतिमा १३८ रन मात्र बनाउन सक्यो। एमसिएका लागि मुलचन्दनीले सर्वाधिक ४७ रन बनाउनुभयो। बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन विकेट लिनुभयो भने ललित राजवंशी र गुल्सन झाले दुईदुई विकेट हात पार्नुभयो।

यसअघि पहिलो अभ्यास खेलमा एमसिएले दिएको १४३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो। सो खेलमा कप्तान रोहित पौडेलले अविजित ५० रन बनाउनुभएको थियो भने कुशल भुर्तेलले ३८, दीपेन्द्रसिंह ऐरीले २८ र आसिफ शेखले १६ रन जोड्नुभएको थियो।
अब नेपालले विश्वकप अगाडि चेन्नईमा फेब्रुअरी ३ मा संयुक्त अरब इमिरेट्स (युएई) र फेब्रुअरी ५ मा क्यानडासँग वार्म–अप खेल खेल्ने छ। भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपमा नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डविरुद्ध खेल्दै आफ्नो अभियान सुरु गर्ने छ।
विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ। यस समूहमा नेपालसँगै दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेका छन्।