२३ माघ २०८२ , शुक्रबार

T20 Warm up: नेपाललाई क्यानडाको १६२ रनको चुनैतीपूर्ण लक्ष्य

News
२२ माघ, काठमाण्डौँ ।

आइसिसी टी–२० विश्वकपको अन्तिम अभ्यास खेलमा नेपाललाई जितका लागि क्यानडाले एक सय ६२ रनको चुनौती दिएको छ। चेन्नईस्थित एमए चिदाबरम मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनायो।

क्यानडाका लागि नवनित ढलिवालले ४१ रन बनाउनुभयो। यस्तै, श्रीयस मोभाले अविजित ३८, कानवार्पल टाथगुरले २५, जसकरण सिंहले २१ र निकोलश किर्तनले १० रन योगदान पुर्याए।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र कुशल भुर्तेलले दुई–दुई विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट हात पार्नुभयो। नेपालले विश्वकपका लागि क्यानडासँग दोस्रो अभ्यास खेल खेलेको हो। यसअघि मङ्गलबार नेपालले पहिलो अभ्यास खेल सोही मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) माथि सात विकेटको जित निकालेको थियो।

नेपालले यसअघि विश्वकप तयारी स्वरुप भारतको मुम्बईमा एमसिए प्रेसिडेन्ट–११ सँग दुई अभ्यास खेल खेलेको थियो। त्यसअघि नेपालले श्रीलङ्कामा ‘ए’ टोलीसँग अभ्यास खेल खेलेर भारत गएको हो।

नेपाल लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी–२० विश्वकपमा खेल्दैछ। पहिलो पटक सन् २०१४ मा विश्वकप खेलेको नेपालले २०२४ को अघिल्लो संस्करण पनि खेलेको थियो।

भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपमा २० देशबीच प्रतिस्पर्धा हुनेछ। सहभागी टोलीहरूलाई चार समूहमा विभाजन गरिएको छ।

नेपाल समूह ‘सी’ मा परेको छ। यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेका छन्। नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। समूह चरणका सबै खेल नेपालले मुम्बईमा खेल्नेछ।

समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन्। पाकिस्तान सरकारले समूह चरणमा भारतसँग नखेल्ने घोषणा गरेको छ। आइसिसीले यस विषयमा पाकिस्तानसँग सहमतिमा समाधान खोज्न आग्रह गरेको छ। यदि पाकिस्तानले खेल खेल्दैन भने भारतले उक्त खेलमा स्वतः दुई अंक पाउनेछ।

समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान छन् भने समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्यूजिल्यान्ड, अफगानिस्तान, क्यानडा र युएई रहेका छन्।

समूहको शीर्ष दुई टोली सुपर आठमा पुग्नेछन्। सुपर आठलाई पनि दुई समूहमा विभाजन गरिनेछ। त्यसपछि समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनल विजेताबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।