आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एकदिवसीय शृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ। शनिबार दुबईस्थित आईसीसी एकेडेमीमा सम्पन्न खेलमा नेपाललाई अमेरिकाले ४ विकेटले पराजित गरेको हो।
नेपालले प्रस्तुत गरेको २७२ रनको लक्ष्य अमेरिकाले ४९ ओभरमै ६ विकेट गुमाउँदै सफलतापूर्वक पूरा गर्यो। अमेरिकाका साइतेजा मुक्कमल्लाले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ७५ रन जोडे। मिलिन्द कुमारले ७० रन र शयान जहागिरले ३६ रनको योगदान दिए।
नेपालका तर्फबाट सन्दीप लामिछानेले १० ओभरमा ५३ रन खर्चेर ३ विकेट लिएका थिए। नन्दन यादव, करण केसी र गुलशन झाले समान एक–एक विकेट प्राप्त गरे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २७१ रनको योगफल बनाएको थियो। दीपेन्द्रसिंह ऐरीले सानदार अर्धशतकसहित ७५ रन बनाएका थिए भने करण केसीले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै ३१ बलमा ४९ रनको योगदान दिए। कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ र कप्तान रोहित पौडेलले ३६ रन जोडे।
अमेरिकाका हर्मीत सिंहले किफायती बलिङ गर्दै १० ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए। सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले समान २–२ विकेट लिँदा जसदिप सिंह र शुभम रन्जानेले एक–एक विकेट हात पारे।
जारी शृंखलामा लगातार तेस्रो जित निकाल्दै अमेरिका लिग–२ को अंकतालिकामा शीर्ष स्थानमा यथावत् रहँदा नेपाल १९ खेलमा १२ अंकसहित सातौँ स्थानमै सीमित छ। यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनको हार बेहोरेको थियो भने दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो।