आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको उद्घाटन खेलमा नेपाल थाइल्याण्डसँग आठ विकेटले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले दिएको एक सय २३ रनको लक्ष्य थाइल्याण्डले १६ दशमलव पाँच ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको हो।

थाइल्याण्डको जितमा नथाकन चन्थमले अविजित ५७ रनको योगदान दिइन्। उनले २९ बलमा नौ चौका र एक छक्का प्रहार गर्दै उत्कृष्ट ब्याटिङ गरिन्। नानपत कोन्चारोन्काईले ३२ रन र अफिसरा सुवानचोनराथीले २८ रन बनाइन्। बलिङतर्फ नेपालकी सीता रानामगरले दुई विकेट लिइन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय २२ रन बनाएको थियो। नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाउनुभयो। उहाँले ५६ बलमा छ चौका प्रहार गर्दै ४४ रनको योगदान दिनुभयो।
त्यस्तै सम्झना खड्काले ११ बलमा २६ रन बनाउँदा रुबिना क्षेत्रीले दुई छक्का र एक चौकासहित १० बलमा १७ रन बनाइन्। पूजा महतोले १२ रन बनाइन्। अन्य खेलाडीले उल्लेखनीय योगदान दिन सकेनन्।

थाइल्याण्डका लागि थिपात्चा पुथावङले सर्वाधिक तीन विकेट लिइन् भने ओन्निता कामचोम्पुले दुई विकेट हात पारिन्। चनिँदा सुथ्थरुवाङ, सुलीपोर्न लाओमी र सुनीदा चातुरोग्रातानाले समान एक–एक विकेट लिए।
नेपालले आफ्नो दोस्रो खेल यही माघ ८ गते नेदरल्याण्ड्ससँग खेल्नेछ।