आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल घरेलु टोली स्कटल्यान्डसँग पराजित भएको छ ।
स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग दुई रनले हारेको हो । स्कटल्यान्डले दिएको ३२४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल निर्धारित ५० ओभरमा ३२१ रनमा समेटियो ।
नेपालका लागि भीम सार्कीले सबैभन्दा धेरै ७३ रन बनाए । उनले ८५ बलमा ८ चौका प्रहार गर्दै ७३ रनको अर्धशतकीय पारी खेले । भीमले आरिफ शेखसँग मिलेर ९४ रनको साझेदारी गरे । तर, आरिफ शेख ५५ बलमा ५ चौकाको मद्दतले ३९ रन बनाएर आउट भए ।
त्यसैगरी, उपकप्तान दीपेन्द्रसिंह ऐरीले ५१ बलमा २ चौकाको सहयोगमा ५६ रन जोडे । उनले सातौँ विकेटका लागि सोमपाल कामीसँग मिलेर १०५ रनको महत्त्वपूर्ण साझेदारी गरे । सोमपालले ४४ बलमा ३ चौका र ४ छक्काको मद्दतले ६७ रन बनाए, तर उनी पनि आउट भए ।
स्कटल्यान्डका म्याकेन्जी जोन्सले तीन विकेट लिए भने शफिया शरिफ र माइकल लिस्कले २–२ विकेट हात पारे । ब्रान्डन म्याकमुलेन र चार्ली कासेलले १–१ विकेट लिएर नेपाललाई दबाब दिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३२३ रनको योगफल खडा गरेको थियो ।
स्कटल्यान्डका लागि रिची बेरिङ्टनले ११४ बलमा ६ चौका र चार छक्काको मद्दतले सर्वाधिक १०२ रनको योगदान गरे । माइकल लिस्कले ६२ बलमा १२ चौका र तीन छक्कासहित अविजित ९६ रन बनाए । त्यसैगरी चार्ली टियरले ६५ बलमा ९ चौका प्रहार गर्दै ६८ रन बनाए भने मार्क वाट अविजित २१ रनमा रहे । फिनले म्याकक्रियाथले १७ रन बनाएर टोलीको स्कोर बढाए ।
नेपालका लागि करण केसी र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट लिए भने ललितनारायण राजवंशीले १ विकेट हात पारे ।