६ फाल्गुन २०८२ , बुधबार

टी-२० विश्वकप : दीपेन्द्रको विस्फोटक अर्धशतकमा १२ वर्षपछि नेपालको जित

News
५ फाल्गुन, काठमाण्डौँ ।

आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले स्कटल्याण्डलाई ७ विकेटले पराजित गर्दै १२ वर्षपछि विश्वकपमा पहिलो जित दर्ता गरेको छ। मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा नेपालले १७१ रनको लक्ष्य १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो।

सन् २०१४ को टी–२० विश्वकपपछि पहिलो पटक विश्वकपमा जित हात पारेको नेपालले यस संस्करणको अन्तिम खेल जितसहित सुखद रूपमा अन्त्य गरेको हो। यसअघि इंग्ल्यान्ड, इटली र वेस्ट इन्डिजसँग पराजित भएपछि नेपाल समूह चरणबाट बाहिरिसकेको थियो।

कुशल–आसिफको सानदार सुरुवात

लक्ष्य पछ्याउने क्रममा ओपनर कुशल भुर्तेल र आसिफ शेखले पावर प्लेमा ५६ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए। यो विश्वकपमा नेपालको पावर प्लेमा सबैभन्दा उच्च स्कोर हो।

पहिलो विकेटका लागि दुवैले ९.१ ओभरमा ७४ रन जोडे। कुशल ४३ रनमा आउट भए भने आसिफले २७ बलमा ३३ रन बनाए।

दीपेन्द्रको आक्रमक फिनिसिङ

९८–३ को अवस्थाबाट उपकप्तान दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले इनिङ्स सम्हाले। दीपेन्द्रले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। जारी विश्वकपमा उनको यो लगातार दोस्रो अर्धशतक हो। यसअघि उनले वेस्ट इन्डिजविरुद्ध पनि अर्धशतक बनाएका थिए।

टी–२० विश्वकपमा लगातार अर्धशतक बनाउने उनी पहिलो नेपाली खेलाडी बने। गुल्सन झाले १७ बलमा २४ रन बनाउँदै नटआउट रहे।

स्कटल्याण्डको इनिङ्स

नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन बनाएको थियो।

माइकल जोन्सले ७१ रनको उत्कृष्ट इनिङ्स खेले भने जर्ज मुन्सेले २७ र ब्राण्डन म्याकमुलेनले २५ रन जोडे।

पहिलो १० ओभरमा ८० रन बनाएको स्कटल्याण्डलाई नेपालले डेथ ओभरमा कडा दबाबमा राख्यो।

डेथ ओभरमा नेपालको कमाल

अन्तिम पाँच ओभरमा नेपालले ६ विकेट लिँदै मात्र ३९ रन खर्चियो।

सोमपाल कामीले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए। उनले एकै ओभरमा दुई विकेट लिँदै खेल नेपालतर्फ मोडे। नन्दन यादवले २ विकेट लिए भने रोहित पौडेल र कुशल भुर्तेलले १–१ विकेट लिए।

सोमपाल टी–२० विश्वकपमा नेपालका लागि सर्वाधिक ९ विकेट लिने खेलाडी बने।

नेपालले प्रतिष्ठाको खेल जित्दै विश्वकप यात्राको सुखद अन्त्य गरेको छ।