करण केसीको उत्कृष्ट ब्याटिङको मद्दतले नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गतको चौथो राउण्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डलाई १ विकेटले पराजित गरेको छ।
स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले स्कटल्याण्डले दिएको २९७ रनको लक्ष्य ४९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा करण केसी नायक बने। उनले ४१ बलमा ३ चौका र ४ छक्काको मद्दतले अविजित ६५ रन जोडे। त्यसैगरी ओपनर कुशल भुर्तेलले ४४ बलमा ११ चौकाको सहयोगमा ५३ रन बनाए।
कुशलले अर्का ओपनर आसिफ शेखसँग मिलेर पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए। आसिफ ३३ बलमा २ चौकाको सहयोगमा २० रनमा आउट भए।
त्यस्तै गुलशन झाले ३० बलमा ३ चौका र ३ छक्काको मद्दतले ४२ रन बनाएर आउट भए। भीम सार्कीले ४८ बलमा ३ चौकाको सहयोगमा ४० रन बनाउँदा कप्तान रोहितकुमार पौडेल ५६ बलमा ३७ रनमा आउट भए।
स्कटल्याण्डका लागि ब्रेण्डन मक्कमलानले ३, माइकल लिस्क र ज्याक जार्भिसले २/२ र जसपर डेभिडसनले १ विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९६ रन बनाएको थियो।
स्कटल्याण्डका लागि चाल्र्स टेयर्सले सर्वाधिक ८० रन जोडे। उनले ७२ बलमा १२ चौका र १ छक्का प्रहार गरे। फेन्ली म्याक्रिथले ६७ बलमा ३ चौका र १ छक्काको सहयोगमा ५५ रन बनाए। कप्तान रिची बेरिङ्टनले ४६ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४० रन बनाए।
नेपालका लागि सोमपाल कामी, करण केसी र रिजन ढकालले २/२ र सन्दीप लामिछानेले १ विकेट लिए। नेपालले अब नेदरल्यान्डससँग यही जेठ २१ गते खेल्नेछ।