आइसिसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको छ। जितका लागि क्यानडाले दिएको एक सय ६२ रनको लक्ष्य नेपालले १८ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो। नेपालले १२ बल बाँकी हुँदै लक्ष्य भेट्टाएको हो।
चेन्नईस्थित एमए चिदाबरम मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६१ रन बनाएको थियो।
क्यानडाका लागि नवनित ढलिवालले ४१ रन बनाउनुभयो। यस्तै श्रीयस मोभाले अविजित ३८, कानवार्पल टाथगुरले २५, जसकरण सिंहले २१ र निकोलश किर्तनले १० रन बनाउनुभयो।
बलिङतर्फ नेपालका सन्दीप लामिछाने र कुशल भुर्तेलले दुई–दुई विकेट लिनुभयो भने सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट हात पार्नुभयो।

१६२ रनको लक्ष्य पछ्याएको नेपालका लागि आशिफ शेखले शानदार अर्धशतक बनाउनुभयो। २९ बलको सामना गर्दै उहाँले ६ चौका र तीन छक्काको मद्दतमा ५८ रन बनाउनुभयो। सन्दीप जोराले ४४ रन जोड्नुभयो भने गुल्सन झाले अविजित ३१ रन बनाउनुभयो।
ओपनर कुशल मल्ल १२ रनमा आउट हुनुभएको खेलमा आशिफ शेख रिटायर्ड हट भएपछि गुल्सन झा क्रिजमा प्रवेश गर्नुभएको थियो। कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ९ रन बनाउनुभयो भने लोकेश बमले पाँच रन थप्नुभयो।
यसअघि मङ्गलबार नेपालले सोही मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले हराएको थियो।
नेपालले विश्वकप तयारीका क्रममा भारतको मुम्बईमा एमसिए प्रेसिडेन्ट–११ सँग दुई अभ्यास खेल खेलेको थियो। त्यसअघि नेपालले श्रीलङ्कामा श्रीलङ्का ‘ए’ टोलीसँग अभ्यास खेल खेरेर भारत गएको हो।
नेपाल लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी–२० विश्वकप खेल्दैछ। पहिलो पटक सन् २०१४ मा विश्वकप खेलेको नेपालले सन् २०२४ को अघिल्लो संस्करण पनि खेलेको थियो।
भारत र श्रीलङ्कामा फेब्रुअरी ७ देखि मार्च ८ सम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपमा २० देशबीच प्रतिस्पर्धा हुँदैछ। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ।
नेपाल समूह ‘सी’ मा परेको छ। यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली छन्। नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। समूह चरणका सबै खेल नेपालले मुम्बईमा खेल्नेछ।
समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन्। पाकिस्तानले भारतसँग समूह चरणमा नखेल्ने घोषणा गरेको छ। आइसिसीले यस विषयमा सहमतिमा समाधान खोज्न आग्रह गरिरहेको छ। पाकिस्तान नखेले भारतले स्वतः दुई अंक पाउनेछ।

समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान छन् भने समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानडा र युएई रहेका छन्।
समूहका शीर्ष दुई टोली सुपर आठमा पुग्नेछन्। सुपर आठपछि शीर्ष दुई टोली सेमिफाइनल र सेमिफाइनल विजेताबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।