म्याग्दीमा २५ वर्षअघि कर्तव्य ज्यान मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा हाल धौलागिरी गाउँपालिका-३ बस्ने दुर्गा नारायण बुढा र पर्स बहादुर बुढा रहेका छन्। उनीहरूलाई २०५७ साल कार्तिक २८ गते हाल धौलागिरी गाउँपालिका वडा नं. ३ बस्ने तत्काल वर्ष २४ को गर्ने पाइजा मगरलाई घरको पिंडीमा बाँधी घरेलु हतियार बन्चरो प्रहार गरी कर्तव्य गरी मारेको आरोप लागेको थियो।
जिल्ला अदालत म्याग्दीले २०६६ साल असोज २६ गते दुर्गा नारायण बुढालाई र २०५९ साल फागुन २५ गते पर्स बहादुर बुढालाई २० वर्ष कैद सजायको फैसला सुनाएको थियो। फैसलापछि फरार रहेका उनीहरूलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. १ मा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो। उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला प्रहरी कार्यालय, म्याग्दी पठाइएको छ।