ललितपुरमा २२ वर्षअघि भएको कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
२०६० साल कात्तिक ९ गते ललितपुर उपमहानगरपालिका वडा नं. १४ नखिपोटस्थित टाईटानिक रेष्टुरेन्टमा देउसी भैलो खेलिरहेको अवस्थामा नोर बहादुर राउतलाई मदन बहादुर लिम्बुसहित ७ जनाको समूहले तरवार र रडजस्ता घातक हतियार प्रयोग गरी सख्त घाइते बनाएका थिए। उपचारका लागि वीर अस्पताल लगिएका राउतको भोलिपल्ट मृत्यु भएको थियो।
उक्त घटनापछि फरार रहेका अभियुक्तहरूमध्ये विजय कुमार फोम्बो (लिम्बु) लाई काठमाडौं महानगरपालिका वडा नं. ३२ कोटेश्वरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। तेह्रथुम खाम्लालुङ गा.वि.स. ३ (हाल आठराई गा.पा. वडा नं. २) घर भई काठमाडौं महानगरपालिका वडा नं. ०९ गौशाला बस्ने ४९ वर्षीय फोम्बोलाई गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले आज बिहान ९:३० बजे पक्राउ गरेको हो।
पक्राउ परेका फोम्बोलाई आवश्यक कारवाहीका लागि ललितपुर जिल्ला अदालत लगनखेलमा पेश गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य फरार अभियुक्तहरूको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।