१० चैत्र २०८२ , मंगलवार

श्वेत आभामाभित्र मुक्तिनाथ : देवस्थलमा हिउँको आराधना

News
११ कार्तिक, काठमाण्डौँ ।

हिन्दू र बौद्ध दुवैका लागि पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिर मंगलवार बिहानैदेखि परेको बाक्लो हिमपातले सेताम्मे बनेको छ। विहानै दर्शनका लागि पुगेका तीर्थयात्री र पर्यटकहरू कठिनाइमा परेका छन्।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ अन्तर्गत पर्ने मुक्तिनाथ क्षेत्रमा भएको हिमपातका कारण सडक अवरुद्ध भएको छ। विशेष गरी कागबेनी–मुक्तिनाथ सडकखण्डमा सवारीसाधनको आवतजावत रोकिएको वडा अध्यक्ष तथा मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो।

उहाँका अनुसार, “अहिले मन्दिरसम्म पुग्ने अवस्था छैन। भारी हिमपात भइरहेकाले तीर्थयात्रीलाई सचेत रहन अनुरोध गरिएको छ।”

मन्दिर परिसरमा रहेको १०८ धारा र कुण्डलगायतका पवित्र स्थलहरू हिउँले पुरै ढाकिएको मन्दिर कर्मचारी रविन सुबेदीले बताए।

यसैबीच, जिल्ला प्रशासन कार्यालयले हिमपातसँगै रोकिएका पर्यटकमा उचाइजन्य रोग (High Altitude Sickness) हुने सम्भावनालाई ध्यानमा राख्दै स्वास्थ्यकर्मी र हाइअल्टिच्युड सेन्टर तयारी अवस्थामा राखेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालका अनुसार, “वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीदेखि उपल्लो मुस्ताङ र मुक्तिनाथ मन्दिरसम्म अहिले नजान अनुरोध गरिएको छ।”