१५ कार्तिक २०८२ , शनिबार

चक्रवात ‘मोन्था’को असरपछि आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान

News
१४ कार्तिक, काठमाण्डौँ ।

बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ र न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भइरहेकामा शुक्रबार साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशका अधिकांश प्रदेशमा वर्षा र हिमपातको सम्भावना कायम छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा हुन सक्नेछ। साथै, कोशी, मधेश र बागमती प्रदेशका केही तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मध्यम हिमपात हुन सक्नेछ भने केही स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको छ।

महाशाखाले भारी वर्षा र हिमपातको पूर्वानुमान गरिएका स्थानका सर्वसाधारण, किसान, यात्रु तथा सवारी चालकहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। साथै, मौसममा क्रमिक सुधारसँगै शनिबारदेखि देशका अधिकांश भागमा आंशिक घाम लाग्ने र सामान्य तापक्रम वृद्धि हुने सम्भावना पनि रहेको जनाएको छ।